Listen Live

रसुवा जिल्लामा पर्यटन विकासको सम्भावना र चुनौतिहरु
Posted On: Apr 02, 2017
रसुवा जिल्लामा पर्यटन विकासको सम्भावना र चुनौतिहरु

१. पृष्ठभूमि ः 

रसुवा जिल्ला नेपालका हिमाली जिल्लाहरु मध्ये एक हो । हिमाली क्षेत्रलाई भौगोलिक रुपमा सुन्दर, शान्त र स्वच्छ भूमिको रुपमा हेरिन्छ । यसकारण नेपालमा जहिलेदेखि पर्यटन विकासको शुरुवात भयो तबदेखि विदेशी पर्यटकहरु यहाँका भौगोलिक सुन्दरताहरु हेर्नका लागि आउन थालेका थिए । यो क्रम अझै जारी छ । पर्यटन विकासका लागि पछिल्लो समयमा हिमालयको प्राकृतिक सौन्दर्यतासंग मात्र सिमित रहेन । त्यस क्षेत्रमा बसोबास गर्ने जात जातिहरुको धर्म, संस्कृति, पेशा, व्यवसाय आदिले पनि आर्कषण गर्न थाल्यो । विशेषगरी यस जिल्लामा आदिवासी जनजातिहरुको बाहुल्यता रहेको छ । जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या महिला र पुरुष गरी ४३९०७ रहेका छन् । यसमा आदिवासी जनजातिको ८५ प्रतिशत र तमाङ जातिको मात्रै ६९ प्रतिशत रहेको तथ्याकंले देखाएको छ । यसकारण यस जिल्लाका बाह्रै महिना सेतम्मे रहने लाङटाङ, गङक्षेम्बो, शिसापङ्मा, यालापिक, गोसाइँकुण्ड पिक, सूर्यकुण्ड पिक,पल्दोर पिक जस्ता हिमाल मात्र छैनन् बरु जैविक विविधता, सिमसार, कुण्डहरु, विभिन्न जातजातिका धर्म, संस्कृति, गाउँले जीवनशैली आदिले पनि पर्यटकहरुलाई आकर्षण गरिरहेका हुन्छन् । पर्यटनलाई आकर्षण गर्ने निम्न आधारहरु रहेका छन् ः 

२. सुन्दर हिमालहरु ः 

यस जिल्लामा लाङटाङ रेन्ज अन्तरगत धेरै हिमश्रृंखलाहरु पर्दछन् । सबैभन्दा बढी उचाईमा लाङटाङ लिरुङलाई लिइन्छ । यसको उचाई समुद्री सतहबाट ७२३४ मीटर रहेको छ । यसैगरी लाङटाङ री, ७२०५ मी., दोर्जे ल्हाक्पा ६,९६६ मी., लेन्पो गाङ ६९७९ मी. च्याङबु ६७८१ मी., याङ्सा च्छेन्जी ६६९० मी., ख्युङ्कर री ६६०१ मी., डोक्पा च्ये ६५६२ मी., लाङशिसा री ६४२७ मी., गाङक्षेम्पो ६३८७ मी., मोरिमोतो ६१५० मी., छो गाका ५८४६ मी., यालापिक ५५२० मी. गोसाईकुण्ड—सूर्य पिक ५१४५ मी., गन्जला (नयाँकङ्गा) ५८४४ मी. गणेश १ ७४२२ मी., गणेश २ ७११८ मी., गणेश ३ ७०४३ मी., गणेश ४, ७१०४ मी. पल्दोर पिक ५८९६ मी. आदि रहेका छन् । यी हिमालहरु आरोहण गर्न मात्र होइन टाढाबाट हेर्न पनि त्यतिकै सुन्दर छन् । तमाङ सम्पदा मार्गको नकथली र तरुक्षे डाँडाबाट गणेश हिमाल रेन्ज, तिब्बती हिमालहरुको रेन्ज, लाङटाङ रेन्ज र गोसाइकुण्ड रेन्जका हिमालहरु १८० डिग्रीमा हेर्न सकिन्छ । क्याङजेन गुम्बा पुग्दा लाङटाङ लिरुङ, गाङक्षेम्पो, दोर्जे ल्हाक्पा लगायतका हिमाललाई हातैले छुन सकिएला झैं आँखा अगाडि उभिन आईपुग्छन् । लाग्छ यी हिमालहरु हिमकमल सुन्दरीहरु हुन् जुन बाह्रै महिना फुलिरहन्छन् र हेरिरहुँ लागिरहन्छ । यीनै सुन्दर हिमालका दृश्यहरुको मोहनीले गर्दा विदेशी पर्यटकहरु दर्जनौं पटक घुम्न र हेर्न आइरहन्छन् । 

३. कुण्डहरुको जिल्ला ः 
यस जिल्लामा धेरै कुण्डहरु रहेका छन् । रसुवा जिल्लामा १०८ वटा कुण्ड रहेको बताइन्छ । तीमध्ये धार्मिक–साँस्कृतिक पर्यटनका लागि ४३८० मी. उचाईमा रहेको गोसाइँकुण्ड महत्वपूर्ण मानिन्छन् । यो कुण्ड विश्व रामसार सूचिमा समेत सूचिकृत भएको छ । यसका साथै हिमालयको काखमा रहेका सुन्दर कुण्डहरु जस्तै, सूर्यकुण्ड, भैरवकुण्ड, दूधकुण्ड, सरस्वतीकुण्ड, पार्वती कुण्ड, जेसुर (जागेश्वर कुण्ड), नौकुण्ड आदि प्रसिद्ध छन् । यी कुण्डहरुमा पुग्दा मन चंगा भएको अनुभूति मिल्छ ।  

४. तातो पानीको मुहान ः 
धारा, खोला र झर्नाको पानी छोइ नसक्नु चिसो हुन्छ । तर, त्यसैको छेउमा जमिनबाट तातो बाफ निकालेर तातो पानीको मुहान पनि भेटिन्छन् । तातो पानीमा नुहाउनाले छाला, बाथ, नशा र हड्डी दुख्ने रोग आदि निको हुन्छन् । यस्तो पानीको मुहान चिलिमे, स्याफ्रु, भार्खु, पैरे, टिमुरे आदि क्षेत्रमा छन् । एकपटक तातो पानीमा नुहाएका स्वदेशी तथा विदेशी पर्यटकहरु घरीघरी आइरहन्छन् । यसकारण तातोपानीलाई ओखति पानीको रुपमा पनि लिन सकिन्छ ।

५. जैविक विविधता ः
यो जिल्लाको जैविक विविधताले पनि पर्यटनहरुलाई ठूलो आकर्षण गरिरहेको छ । दूर्लभ हिउँचितुवा, रेडपाण्डा, हिमाली भालु, नाउर, थार, कस्तुरी, रातो प्रजातिको हिमाली पाहा (तमाङ भाषामा पिर्ङा), लङ्गुर बाँदर, डाँफे, मुनाल, कालिज, काँडे भ्याकुर, याक, चौंरी, बरुवाल भेडाबाख्रा, भोटेकुकुर, विभिन्न प्रजातिका दूर्लभ च्याउ, ल्यारेक्स सल्लो, रंगीविरंगी पुतली र किराहरु (माहुरी, भीरमाहुरी) आदि पाइन्छन् । कुटकी, निर्मसी, वीष, पाषणभेद, सर्मागुरु, महागुरु, पदमचाल, पाँचऔंले, चिराइतो, वनलसुन, बोजो, शिलाजीत आदि बहुमूल्य जडीबुटीहरु पाइन्छन् । यी दूर्लभ चीजवस्तुहरु कुनै त हेर्दा राम्रो देखिने तथा कुनै औषधिका लागि प्रयोग हुने हुनाले र अनुसन्धानकर्ताहरुका लागि यो क्षेत्रलाई प्राकृतिक विश्वविद्यालय भन्दा फरक पर्दैन ।  

६. हाइड्रो पावरको सम्भावना ः 
देशकै नमुना जलविद्युतको रुपमा चिनिएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना यस जिल्लामा पर्दछ । हिमालको हिउँ पग्लिएर पानी भई जहिल्यै तलतिर बगेर खेर गइरहेको हिमनदीलाई हाइड्रो पावर (उर्जा) निकालेर विद्युत विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । हिमनदीहरु झर्ना, खोला र नदी भएर अविरल बगिरहनु र भूमिगत जलविद्युत निकाल्न यहाँको बलियो चट्टानको भीरपाखा उपयुक्त सावित भइसकेको छ । यस जिल्लामा भएका जलस्रोतहरुको हाइड्रो पावर उत्पादनमा उपयोग हुने हो भने हाइड्रो पावर पर्यटन क्षेत्र घोषणा गर्न सकिन्छ । यसले विश्वका हाइड्रो पावर सम्बन्धी विज्ञ, विश्वविद्यालयका विद्यार्थीहरु, सोधकर्ता एवं अनुसन्धानकर्ताहरुलाई यो क्षेत्रमा भ्रमण अध्ययनको लागि आकर्षणको केन्द्र बन्न सक्छ । 

७. धार्मिक–साँस्कृतिक पर्यटन ः 
यो जिल्लामा ८५ प्रतिशत आदिवासी जनजाति र ६९ प्रतिशत तमाङ जाति रहेका छन् । उनीहरुको आफ्नो पहिचान झल्किने भाषा, भेषभूषा, रहनसहन, जीवनशैली रहँदै आएको छ । परैबाट फलानो जातिको गाउँ रहेछ भनेर गाउँघरको बनोटबाट चिन्न सकिन्छ । बौद्ध र बोन धर्मको संस्कृतिले धार्मिक पर्यटनलाई मात्र नभएर अन्य पर्यटकहरुलाई समेत उनीहरुले मान्ने चाडपर्व, धार्मिक मेला, पूजापाठ, जन्म, विवाह र मृत्यू संस्कारमा गरिने धार्मिक कार्यहरु हेर्न लायकका हुन्छन् । तमाङ जातिको बाहुल्यता भएको हुनाले जिल्लाको उत्तर–पश्चिम (नुप्पा) गाउँहरुलाई तमाङ सम्पदा पदमार्ग भनेर नेपाल सरकारले घोषणा गरी कार्यक्रम लागू गरिएको थियो । पूर्वका गाउँहरु लाङटाङ पदयात्रा मार्गको रुपमा देशकै तेस्रो पर्यटीय गन्तव्यको रुपमा चिनिदै आएको छ । अझै पनि धेरै गाउँहरुमा तमाङ, गुरुङ, नेवार, मगर आदिको पहिचान झल्किने संस्कृतिहरु जीवन्त छन् । बाह्रै महिना कुनै न कुनै नाच, गान, मेला आदि भइरहन्छन् । साथै बाहुन क्षेत्रीका पनि बालन नाच, रुद्री, सप्ताह लाउने, चण्डी, गरुड पुरान सुनाउने, विवाह मण्डप बनाउने जस्ता संस्कृतिले पर्यटनहरुलाई मनोरन्जन दिन सक्छन् । 

८. कृषि पर्यटन ः 
 हिजोआज विश्वभरि नै अर्गानिक खानाको बढ्दो माग हुँदै गएको छ । स्वस्थ जीवन जीउनको लागि स्वच्छ वातावरण, शुद्ध हावापानी र स्वस्थ खाना खानु पर्ने हुन्छ । यो कुरामा लगभग सबै सहमत छन् । तर पनि बढ्दो जनसंख्याको चाप र थोरै अवधिमा धेरै नाफा कमाउने उद्धेश्यबाट कृषि क्षेत्र पनि अछुतो रहन सकेन । यद्यपि कतिपय जग्गाहरु अझै पनि किटनाशक औषधि र रसायनिक मलबाट टाढा छन् । यो जिल्ला हिमाली तथा उच्च पहाडी जिल्ला भएको हुनाले यहाँको खेतीपाती पनि पुरानै शैलीमा छ । पशुपालन पनि जीवन निर्वाह र पुख्र्यौली पेशाको रुपमा अंगाल्दै आएकोले खेतबारीमा गोबरमलको प्रयोग गरी अन्नबाली उब्जनी गर्दै आएका छन् । यसरी उब्जाउ गरेको खानेकुराहरु तागतिलो र स्वस्थ्यबर्धक हुन्छ । यो कुराको प्रचार प्रसार गर्न सके पर्यटकहरुको ध्यान यतातिर खिच्न सक्ने सम्भावना रहन्छ । पैसो तिरेर रोग किन्नु कसलाई पनि मन पर्दैन । जडीबुटी खाएको याकचौंरी, भेडाबाख्रा, गाईबस्तुको मासु, दूध, छुर्पी, चीज, नौनी, चिसोपानीमा हुर्काएको ट्राउट माछा, घरको अन्न खुवाएर पालेको साखिने कुखुराको मासु, अन्डा, लेकमा फलाएको रातो चामलको भात, सिमीको तरकारी, गान्टे मूलाको अचार, कालो मसुरोको दाल, करु, फापर, गहूँ, कोदो र जौको ढिँडोको स्वाद चाखे पछि नपल्किने को होला ? कोदाको तीनपाने रक्सी, मकैको जाँड, लालीगुराँसको जुस, वाइन खाए पछि कुनचाहिँको जिब्रोले नमिठो भन्ला ? 

९.चुनौतिहरु ः  
क. सरकारी उदासिनता ः नेपाल सरकारले रसुवा जिल्लाको लाङटाङ क्षेत्रलाई तेस्रो पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको धेरै वर्ष भयो । यसैगरी एक दशक अघि जिल्लाको उत्तर–पश्चिमी गाउँहरुलाई समेटेर तमाङ सम्पदा पदमार्ग भनेर कार्यक्रम लागू गर्यो । यद्यपि पर्यटनको राम्रो विकास हुन सकेको छैन । मुलतः पर्यटन विकासको पूर्वाधारहरु तयार गर्न सकेन । पर्यटन विकासको लागि पहिलो शर्त भनेको बाटो हो । रसुवा जिल्ला प्रवेशको लागि सडक यातायात सहज छैन । सडकको अवस्था दयनीय छ । जताततै पहिरो गएका छन् । जोखिम मोलेर यात्रा गर्नु पर्छ । दुई दशक बित्दा पनि पासाङ ल्हामु राजमार्गको राम्चे, मूलखर्क र ठाडे खण्डको पहिरो नियन्त्रण गर्न कुनै ठोस कार्यक्रम र योजना ल्याउन सकेन ।सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु राख्छन् । पर्यटकहरु आरामले यात्रा गर्न पाउँदैन ।
हालैका वर्षमा नेपाल–चीन–केरुङ नाका खुलेपछि चिनियाँ पर्यटकहरु फ्री भिसा भएकाले दिनहुँ सयौंको संख्यामा आउँछन् । तर, सडक राम्रो छैन । पहिरो र ग्राबेल बाटोमा निकै सकसले यात्रा गरिरहेका छन् । चिल्लो सडकमा सरर गुडेर आएका ती नेपालको सीमा प्रवेशपछि सडकको दुर्दशा देखेपछि फिस्स हुन्छन् । दिनहुँ सयौंकै संख्यामा गुड्ने मालबाहक गाडीले ग्राबेल सडकमा खाल्टाखुल्टी बनाएका छन् । व्यापारीले नाफा कमाउँछ र सरकारले भन्सारबाट कर उठाउँछ । सास्ती पाउने चाहिँ यात्रु । सँधै यस्तै रहीरहे दुःख र सास्ती खेप्न के पर्यटकहरु आइरहलान् ? 
सडक नपुगेका पैदलमार्ग पनि उतिकै जोखिम छ । बाटामोमा साइनबोर्ड सम्म राखिदैन । भीरको बाटो कतिपय असुरक्षित छन् । चिप्लिएर लड्यो भने लाश भेट्टाउन सकिन्न । खोलाहरुमा पूलपुलेसाको समस्या छ । सरकारले यति मात्र गरिदिने हो भने पर्यटकहरुको संख्यामा बृद्धि हुने कुरामा दुईमत रहन्न । 
ख. व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धा ः यो जिल्लाका पर्यटन व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । कतिपय होटल र लजमा विदेशी पर्यटन ल्याउने गाइडहरुलाई निशुल्क खाना, बास, वियर, रक्सी दिनुको साथै कमिशन पनि दिने गरेको बताइन्छ । तर, यस्तो सुविधा नेपाली पर्यटकहरुलाई भने छैन । नेपाल पर्यटन बोर्ड, टान, नाटा आदि पर्यटन क्षेत्रसंग सम्बन्धीत सरकारी र गैरसरकारी संस्थाहरुले राजनीति गर्न बन्द गरी व्यवसायिक दक्षताका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नु पर्नेमा त्यस्तो पाइँदैन । बरु एक पछि अर्को संस्था स्थापना गर्दै राजनीतिक क्रियाकलापमा बढी प्रतिस्पर्धा गरेको पाइन्छ । 
ग. हस्पिटालिटीमा कमी ः अझै पनि व्यवसायीहरुले पर्यटक भनेका गोरा अनुहार भएका पश्चिमी मुलुकका नागरिक वा एशियाका जापानिज, सिंगापुरे, कोरियन आदि मात्र हुन् भनेर बुझ्दछन् । कतिपय ठाउँमा नेपाली पर्यटकलाई बास र खाना दिइँदैन भन्ने गुनासो नभएको होइन । पछिल्लो समयमा भने नेपालीहरुले विदेशी भन्दा बढी खर्च गर्छन् भन्न थालेका छन् । व्यवसायीहरुले होटल र लजमा आउने जोसुकैलाई नम्र व्यवहार गर्नु पर्ने हुन्छ । सेवा दिइँदा सफा, शुद्ध र राम्रो सुविधा हुनु पर्छ । कतिपय होटल, लजहरुमा त्यस्तो पाइँदैन । खानाको परिकार पकाउन
घ. असुरक्षित यात्रा ः यो जिल्लाका पर्यटकीय गन्तव्यहरुमा पुग्नको लागि बाटोमा यात्रा गर्न असुरक्षित महशुष हुन्छ । राष्ट्रिय निकुन्ज क्षेत्र भएको हुनाले वनजंगलको आक्रमण हुने डर पनि छ । विरामी भयो भने सिटामोल, जीवनजल र घाउचोट हुँदा ह्याण्डी प्लाष्ट पाउन मुश्किल छ । स्वास्थ्य चौकी वा स्वास्थ्य सेवाको ठूलो कमी छ । यसैगरी प्रहरी चौकी पनि निकै टाढा टाढा भएको हुनाले जंगलभित्र यात्रा गरिरहँदा कुनै कुनै अपराधिक घटना घट्न गयो भने शान्ति सुरक्षाको दृष्टिकोणले पहुँच सहज छैन । 

१०. सुझाव तथा निश्कर्ष ः 
पर्यटन क्षेत्रले नगद भित्र्याउनमा ठूलो योगदान गरेको हुन्छ । यसले अन्तराष्ट्रिय देखि देशको कुना काप्चासम्म नगद प्रवाह गराउँछ । हवाइजहाजको कम्पनी देखि यातायात व्यवसाय, होटल व्यवसाय, कृषि, मज्दुर, गाइड आदि धेरैलाई रोजगार दिन्छ । हिमालको पानी पग्लेर तलतिर बगेर गई नेपालको सिमाना कटेर खेर जान्छ तर पर्यटकले ल्याएको नगद हिमाल मुनिसम्म उकालो चढेर जान्छ । यसकारण पर्यटनले विश्वका विभिन्न देशका मानिसहरुको तन र मन मात्र ल्याउने काम गर्दैन बरु धन (लक्ष्मी) ल्याउने काम गर्दछ । अतः धन (लक्ष्मी) भित्र्याउने रसुवाको पर्यटन विकासको लागि निम्न कार्यहरु गर्न सकिन्छ ः  

  • सडक बाटोको स्तरोन्नति गर्नु पर्ने । 
  • पैदलमार्गहरु मर्मत गर्नु पर्ने । 
  • तर्न नसक्ने खोलाहरुमा पुलको व्यवस्था गर्नु पर्ने ।
  •  विभिन्न गाउँहरुमा भएको धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक, पुरातात्विक र जैविक विधिताको संरक्षण गरिनु पर्ने । गत वर्ष वैशाख १२ गते र त्यसपछिका पराकम्पहरुले हाम्रा संस्कृति र पहिचान झल्काउने घर, गुम्बा र मन्दिरहरु भत्काएका छन् । तिनीहरुको पुनः संरक्षण हुने गरी पुनः निर्माण गरिनु पर्छ ।
  •  व्यवसायीहरुको व्यवसायिक ज्ञान र क्षमता अभिवृद्धि गर्नु पर्ने ।
  •  पर्यटन व्यवसायको नाममा राजनीति गर्ने संस्थाहरु खारेज गर्नु पर्ने । 
  • पर्यटन क्षेत्रमा शान्ति, सुरक्षा र सुलभ सेवा सुविधाको व्यवस्था हुनु पर्ने । 
  • तमाङ सम्पदा पदमार्ग घोषणा र त्यो कार्यक्रमले नुप्पा गाउँहरुमा ग्रामीण पर्यटनले सकारात्मक परिवर्तन ल्याएको छ । यद्यपि ट्रेकिङ रुट उति मिलेको छैन । काठमाडौंबाट बेत्रावती, पैरेवेशी, ठूलोगाउँ, डाँडागाउँ, तिरु, हाकु, नेसिङ, ग्रेगाउँ हुँदै गत्लाङ पुग्न सकिन्छ । गत्लाङबाट सोमदाङ हुँदै धादिङ जाने वा चिलिमेमा जोड्न सकिन्छ ।
  • स्याफ्रुवेशी–रसुवागढी खण्डको सडक निर्माणले पुरातात्विक महत्वका रसुवागढी किल्लालाई केही क्षति पुर्याएको थियो । गत वर्ष गएको महाभूकम्पले करिव ८० प्रतिशत किल्लामा क्षति पुगेकाले यसको पुनःनिर्माण गरिनु पर्ने ।
  • लाङटाङ पदमार्गमा स्याफ्रुवेशीदेखि क्याङजेन भएर पुनः सोही बाटो फर्किनु पर्ने हुँदा पर्यटकहरु उति खुसी हुँदैनन् । त्यसकारण गन्जला पासको बाटो मर्मत गर्नु पर्ने । त्यसैगरी क्याङजेन वा लाङटाङबाट चन्दनबारी वा च्योलाङपाटी वा लौरीविना जोड्ने बाटो बनाई गोसाइँकुण्ड भएर हेलम्बु निस्किने विकल्प खोज्नु पर्ने । 
  •  व्यवसायीहरुलाई सरकारी अनुदान सहयोगको व्यवस्था गर्नु पर्ने । 

लेखक रसुवा जिल्लाका ठूलो भार्खुका अधिवक्ता फुर्पा तामाङ हुन ।

phurpatamang10@gmail.com      9851148979

Comments