Listen Live

​असिनाले रसुवामा पाकेको धान बाली नष्ट
Posted On: Oct 29, 2017

रसुवा, कार्तिक १२ -  शनिबार राति परेको असिनाले पाकेको धान बाली नष्ट भएपछि कृषक चिन्तित बनेका छन् । पानीसँगै असिना परेपछि रसुवाको उत्तरगया गाउँपालिकास्थित कर्मिडाँडामा लगाइएको धान बाली नष्ट भएको हो । 

धान भित्रयाउने तयारीमा रहेको अवस्थामा असिना पानीले करिब ४ सय रोपनी जमिनमा लगाइएको धानबाली नष्ट गरेको कृषि विकास कार्यालय रसुवाको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार करिब डेड सय कृषकले लगाएका ४० प्रतिशत धान नष्ट भएको छ । यो वर्ष धानका लागि मौसम अनुकुल भएकाले धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । 

वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाइँेले भने, “यो वर्ष करिब १२ प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरिएको थियो, तर असिना पानीले क्षति गरेपछि उत्पादन घट्ने देखिन्छ । 

जिल्लामा एक हजार तीन सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । विशेषगरी, जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा धान खेती हुने गर्दछ । जिल्लाको पाँच ओटै गाउँपालिकामा धान खेती हुने र वार्षिक करिब ३९ सय मेट्रिक टन धान उत्पादन हुने कार्यालयले जनाएको छ । 

त्यसैगरी पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाको केही भागमा धान खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ । माथिल्लो क्षेत्रमा चिसो बढी हुने र खेतीयोग्य जमिन कम भएकाले कृषि पेशा गर्ने कृषकको सङ्ख्या पनि कमि छ । 

उच्च हिमाली भागमा पर्ने माथिल्लो क्षेत्रमा कालोमुसुरो, सिमी, सानो केराउको खेती हुने गरेको छ । पछिल्लो समय खेतीपातीको काम गर्ने भन्दा पनि व्यावसायीक रुपमा तरकारी खेती, रेन्बोट्राउट माछा पालन गर्ने कृषकको सङ्ख्या बढेको छ । 

Comments