Listen Live

रसुवागढी नाकामा बन्न लागेको सुख्खा बन्दरगाहको तीन महिनाभित्र टेण्डर
Posted On: Mar 06, 2018

रसुवा, फागुन २२ - चीनले  अनुदानमा बनाइदिन लागेको रसुवागढी सुख्खा बन्दरगाहको डिजाइन तयार भएको छ।चीनले बनाएको डिजाइनमा नेपालले समेत सहमति जनाइसकेको छ।यो सहमतिपछि सुक्खा बन्दरगाहको निर्माणको प्रकृयामा अघि बढ्नेछ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार गत जनवरीमै नेपाल र चीनका अधिकारीले डिजाइनमा सहमति जनाएर हस्ताक्षर गरिसकेका छन्। अहिले चीनले सुख्खा बन्दरगाहको लागतदेखि प्राविधिक काम गरिरहेको छ।दुर्इ महिनाभित्र प्राविधिक काम पनि सकिनेछ।

तीन महिनाभित्रमा टेण्डर प्रक्रियामा जाने तयारी भएको समितिले जनायो। रसुवाको सदरमुकामको धुन्चेदेखि करिव २६ किलोमिटरमा पर्ने टिमुरेमा बन्दरगाह निर्माण गर्न लागिएको हो।यो ८ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ।

बन्दरगाह निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको ५ हेक्टर र स्थानीयको ३ हेक्टर जमिन अधिग्रहण समेत भैसकेको समितिले जनाएको छ। सन् २०१४ मा बन्दरगाह निर्माण गर्ने नेपाल र चीनका अधिकारीका वीचमा सम्झौता भएको थियो। डिजाइन बनाउनका लागि २०१५  डिसेम्वरमा सम्झौता भर्इ काम सुरु भएको थियो।

चीनले आफुतर्फको भुभाग केरुङ भन्दामाथि पाङसिङ आधुनिक बन्दरगाह धमाधम निर्माण गरिरहेको छ। चिनियाँ परामर्शदाताको डिजार्इन अनुसार बन्दरगाहमा पाँच तले प्रशासनिक भवनमा रहेको छ।उक्त भवनमा अध्यागमन विभाग,बैक,भन्सार लगायत सबै निकायहरु रहनेछन्।

 

यो बन्दरगाहमा ३ सय ५० वटा गाडी अटाउने पार्किङ स्थल,७५० वर्गमिटर क्षेत्रफलमा फैलिएको गोदाम,मालसामान चेक जाँच गर्ने टर्मिनल,चेकपोस्ट,पानी,विद्युतका लागि आवश्यक पुर्वाधार लगाएत आवश्यक पर्ने सम्पुर्ण पुर्वाधारहरु निर्माण हुनेछन्।

रसुवागढीबाट नेपाल तर्फको १६ किमी सडक चीनले दुर्इ लेनमा स्तरोन्नती गरि कालोपत्रे गर्नका लागि नेपालसँग सम्झौता गरेर डिटेल डिजार्इनिङको काम गरिरहेको छ। चीनले रसुवागढी नाकालार्इ नेपालबाट जोडिने नाका मध्ये उच्च प्राथमिकतामा राखेको छ।

रसुवागढी नाकाबाट केरुङसम्मको दुरी करिव २६ किमी रहेको छ। टिमुरेमा बन्न  लागेको बन्दरगाह र रसुवागढी नाकाको दुरी करिव २  किमी रहेको छ। चीनको प्रसिद्ध शहर सिगात्सेदेखि केरुङसम्को दुरी भने साढे चार सय किमी रहेको छ।

Comments