Listen Live

प्राथमिक सेयरका लागि सोमबारसम्म ६० हजार जनाको आवेदन
Posted On: Mar 06, 2018

रसुवा, फागुन २२ - सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको प्राथमिक सेयरका लागि सोमबारसम्म ६० हजार जनाले आवेदन दिएका छन् । सान्जेन जलविद्युत कम्पनीमा ३० हजार जनाले सेयर भरेका छन् भने रसुवागढी हाइड्रोपावरको आइपीओ पनि ३० हजार जनाले नै भरेका बिक्री प्रबन्धकहरुले बताएका छन् । 
 
सान्जेनमा सोमबारसम्म ३० हजार जना आवेदकबाट ७८ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । नागरिक लागानी कोषका सूचना अधिकारी उद्वव सिलवालका अनुसार सोमबारसम्म ७८ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । सान्जेनले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँको ७१ लाख १७ हजार ५ सय कित्ता आइपीओ खुला गरेको हो । 
 
सान्जेनले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चय कर्ताका लागि आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गर्नेछ । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने छन् । 


 
यस्तै, रसुवागढीमा पनि ३० हजार आवेदकले १ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर भरेका बिक्री प्रबन्धक सिद्वार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए । 
रसुवागढीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ करोड ३३ लाख ४२ हजार ९५ कित्तामा आवेदन दिन सक्नेछन् । सञ्चयकर्ताले न्यूनतम ५० कित्ता देखि ५०० कित्तासम्म आवेदन दिन सकनेछन् । 
 
दुवै कम्पनीको सेयरमा सी–आस्वा प्रणालीमा सहभागी बैंकका सबै शाखाबाट आवेदन दिन सकिनेछ । सेयर भर्न आवेदनकर्ता आफैं परिचयपत्र सहित सम्बन्धित बैंकमा जानुपर्नेछ । सञ्चयकर्ताले फागुन ३० गतेसम्म सेयर भर्न पाउनेछन् । त्यसपछि ऋणदाता कम्पनीका कर्मचारी, परियोजना बनिरहेको जिल्लाका स्थानीयबासिन्दा, विद्युत प्राधिकरणका कर्मचारी, चिलिमेका कर्मचारीहरुका लागि सेयर खुला हुनेछ । 

 सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्नेछन् ।
 
यसैगरी, रसुवागढीमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गते सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीले हाल निष्कासन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् । 

Comments