Listen Live

रसुवाका तीन वटा कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण
Posted On: Mar 06, 2018
रसुवाका तीन वटा कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण

रसुवा, फागुन २२ – कृषकलाई सहज तरिकाले कृषि सेवा उपलब्ध गराउनका लागि गाउँमा सञ्चालनमा ल्याइएको कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्लामा  रहेका ४ वटा केन्द्रमध्ये तीन वटा सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । जिल्लाको चिलिमेमा रहेको कृषि सेवा केन्द्र सोमबार आमाछोदिङ्मो गाउँपालिकालाई हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ ।

कार्यालय मातहतमा रहेका चार वटा सेवा केन्द्रमध्ये दुई वटा केन्द्र यसअघि नै हस्तान्तरण गरिसकिएको थियो । पाँच वटा स्थानीय तहमध्ये नौकुण्ड गाउँपालिका सेवा केन्द्रविहीन थियो । कृषि सम्बन्धी कार्यक्रम तथा वजेट स्थानीय तहमा गएको र कृषि विकास कार्यालय अन्तर्गत रहेका सेवा केन्द्रहरु स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने नीति अनुसार जिल्लामा रहेका केन्द्रहरु क्रमैसँग हस्तान्तरण गर्दै लगेको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताउनुभयो ।

‘अनौपचारिक रुपमा सबै सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण गरिसकेका छौँ’, वरिष्ठ कृषि विकास अधिकृत तिवारीले भन्नुभयोे, ‘गोसाइँकुण्ड गाउँपालिकाको सेवा केन्द्र औपचारिक रुपमा हस्तान्तरण हुन बाँकी छ ।’ सेवा केन्द्रमा रहेका कम्प्युटर, फर्निचर, क्यामेरालगायतको सामग्री गाउँपालिकामा रहने गरी औपचारिक कार्यक्रम गरेर गाउँपालिकाका अध्यक्षलाई बुझाइएको कार्यालयका प्राविधिक सहायक भिष्मबहादुर बस्नेतले बताउनुभयो ।

‘सेवा केन्द्रको जग्गा, फर्निचरलगायतका सामग्री औपचारिक रुपमा गाउँपालिकालाई बुझाएका छौँ’, प्राविधिक सहायक बस्नेतले भन्नुभयो, ‘गोसाइँकुण्ड गाउँपालिकामा रहेको सेवा केन्द्र पनि यहि फागुनभित्र हस्तान्तरण गर्ने छौँ ।’

कृषि सम्बन्धी कार्य सञ्चालनका लागि प्रत्येक गाउँपालिकामा कृषि शाखा सञ्चालनमा आएको छ । शाखाबाट नै सेवा प्रवाह गर्न थालेपछि सदरमुकामस्थित जिल्ला कृषि विकास कार्यालय र गाउँमा सञ्चालित सेवा केन्द्र चैत २८ अगाडि नै स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारीमा कार्यालय लागेको छ ।

यो वर्ष अनुदानमुखी कार्यक्रम, नयाँ प्रविधिमैत्री कार्यक्रम, गोठ सुधार, तालिम सञ्चालन, माटो जाँच, तरकारीको बीउ वितरणलगायतका कार्यक्रम सञ्चालन भइरहेको कृषि विकास शाखाहरुले जानकारी दिएका छन् ।

यसअघि हिमाली जिल्ला र तराईको जिल्लामा प्रतिजिल्ला ४ वटा र पहाडी जिल्लामा प्रतिजिल्ला ६ वटा सेवा केन्द्र रहने व्यवस्था थियो । 

Comments