Listen Live

रसुवागढी नाकामा २१ दिनपछि कारोबार सुरु
Posted On: Mar 07, 2018
रसुवागढी नाकामा २१ दिनपछि कारोबार सुरु


रसुवा, फागुन २२ – चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा २१ दिनपछि कारोबार सुरु भएको छ । कारोबार सुरु भएको पहिलो दिन आज लसुन र स्याउ बोकेका ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् ।

ग्याल्बो ल्होसारको कारण फागुन १ गतेदेखि चिनियाँ ट्रान्सपोर्ट बन्द भएपछि रेडिमेट सामग्री र इलेक्ट्रोनिक सामग्रीको आयात रोकिएको थियो । अन्य सामग्री नभित्रिए पनि स्याउ नियमित आएका कारण २१ दिनमा १७ करोड राजश्व संकलन भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले जानकारी दिनुभयो । ‘फागुन महिनामा हामीले २९ करोड राजश्व उठाउने लक्ष्य राखेका छौँ’, प्रमुख भन्सार अधिकृत कोइरालाले भन्नुभयो, ‘अब १२ करोड राजश्व उठाउन बाँकी छ ।’

यो महिनामा राजश्व उठाउन कठिन देखिएको भए पनि समय अझै बाँकी रहेकाले सम्भावना उच्च रहेको कोइरलाले बताउनुभयो । कारोबार सुरु भएसँगै नाकामा सवारी र मानिसको चाप बढेको छ । कारोबार सुरु भएसँगै मंगलबार ८० वटा कन्टेनर नेपाल भित्रिएका र ५० वटा कन्टेनर चीन प्रवेश गरेका छन् । शसस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका गुल्मपति एंवम प्रहरी नायव उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो । 

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । कार्यालयले साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन गरेको जनाएको छ । 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

Comments