Listen Live

​रसुवाको टिमुरेमा मानेछोप्पा पर्व मनाइदै
Posted On: Mar 08, 2018

रसुवा, फागुन २४ – रसुवाको टिमुरेमा आज मानेछोप्पा पर्व मनाइँदै  छ । हरेक वर्ष ग्याल्बो ल्होसारको १९ दिनपछि मनाइने यो पर्व यो वर्ष पनि मनाउन लागिएको हो ।  लामा गुरु बेन्ज्यो कुइसाङ छेन्देलको मृत्यु भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको छ । 

जिल्लाको बृद्धिममा लामा गुरु छेन्देलको जन्म दिनको सम्झनामा र टिमुरेमा मृत्य भएको दिनको सम्झनामा माने छोप्पा पर्व बनाउने गरिएको टिमुरेका सोनामवाङ्दी तामाङले बताउनुभयो । 
तीन दिनसम्म मनाइने यो पर्वमा पहिलो दिन महिलाहरुले सफा कपडा र गरगहना लगाएर नाङ्लोमा खानेकुरा बोेकेर पूजा घरमा लगेर पूजा गर्ने गर्दछन् ।

दोस्रो दिन कुल देउताको पूजा गर्ने गरेका छन् । आज तेस्रो तथा अन्तिम दिन सबै घरबाट एक एक माना चामल लगेर तोर्मा बनाउने र बेलुकी तोर्मा काटेर प्रसाद खुवाउने तामाङले बताउनुभयो । 
रातभर नाचगान गरेर मानेछोप्पा पर्वको समापन गरिने तामाङले बताउनुभयो । टिमुरेबासीले सामाजिक सद्धभाव र एकताको निम्ती मानेछोप्पा मनाउँदै आएका छन् । टिमुरेमा मानवबस्ती सुरु भएसँगै यो पर्वको सुरुवात भएको स्थानीय लामा गुरुको भनाई छ । 

आफ्ना धार्मिक गुरुको निधन भएपछि शोकका रुपमा मनाउँदै आएको यो पर्व अहिले गाउँमा रोगव्याधी नलागि सुख शान्ति मिलोस र अनिकाल  समेत नपरोस भनि मनाउने गरिएको टिमुरेका फुर्पु दोर्जे तामाङले बताउनुभयो । परम्परा लोप हुन नदिनका लागि स्थानीय युवा संरक्षणमा जुटेका छन् । 

Comments