Listen Live

रसुवामा ३.५ मेट्रिक टन कफी उत्पादन
Posted On: Mar 09, 2018

रसुवा, फागुन २४ – रसुवामा एक वर्षमा करिब ३.५ मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा कफी उत्पादन हुने गरेको थियो । 

कफीको माग बढ्दै गएपछि कृषकले कफी खेतीको बिस्तार गर्दै लगेपछि पछिल्लो समय कफी उत्पादनमा बृद्धि भएको हो । जिल्लाको सरमथली, धैबुङ, भोर्ले र लहरेपौवामा कफी उत्पादन हुने गरेको छ । कफीले राम्रो बजार पाउन थालेपछि कृषकले कफी खेतीको विस्तार गर्दै लगेका जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ । 

कार्यालयका अनुसार नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा करिब ७.५ हेक्टर क्षेत्रफलमा कफी खेती हुने गरेको छ । जिल्लामा उत्पादन भएको कफीको तयारी दाना काठमाण्डौँ र सिन्धुपाल्चोक लैजाने गरिएको छ । वार्षिक रुपमा करिब १२ लाखको कफी बिक्री हुने गरेको कार्यालयका प्राविधिक सहायक भिष्मबहादुर बस्नेतले बताउनुभयो । 

यो वर्ष कफी उत्पादन बढेको र तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । कफी उत्पादन बढाउनका लागि कार्यालयले तालिम दिने तथा अनुदानमा कफीको बिरुवा वितरण गर्ने गरेको छ । 

केही वर्ष पहिले घरायसी प्रयोजनका लागि थोरै परिमाणमा कफी उत्पादन हुँदै आएकोमा अहिले सामुहिक रुपमा नै कफी उत्पादन गरेर बिक्री गर्ने गरेको पाइन्छ । जिल्लाको भोर्लेमा ७ मेट्रिक टन, लहरेपोवामा ४, धैबुङमा ४ र सरमथलीमा वार्षिक २ मेट्रिक टन कफी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय रसुवाको तथ्याङ्क छ । 

 

Comments