Listen Live

रसुवागढी सान्जेनको सेयर किन्ने अवधि सकिन २ दिन बाँकी
Posted On: Mar 13, 2018

रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न सञ्चय कोषका सञ्चयकर्ताका लागि छुट्याइएको अवधि बुधबार सकिँदैछ । गत फागुन ११ गतेबाट बिक्री खुल्ला गरिएको दुवै कम्पनीको सेयर खरिद गर्ने अवधि २ दिनपछि सकिन लागेको हो ।

आइतबार साँझसम्म दुवै कम्पनीले रसुवामा निर्माण गरिरहेका ३ आयोजनाको सेयर खरिद गर्न १ लाख ५७ हजार ७ सय ५६ सञ्चयकर्ताको आवेदन परेको छ । परेको आवेदनबाट ४ अर्ब ४८ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन भएको छ । रसुवागढीले सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँबराबरको सेयर निष्कासन गरेकामा ७९ हजार ४ सय ७९ आवेदन परेको छ । ३ अर्ब १५ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन भएको छ ।

रसुवागढीको सेयर खरिद गर्न संचयकर्ताबाट परेको आवेदन साढे २ गुणाले बढी हो । ७१ करोड १७ लाख ५० हजार रुपैयाँबराबरको ७१ लाख १७ हजार ५ सय कित्ता सेयर जारी गरेका सान्जेनको सेयर खरिद गर्न ७८ हजार २ सय ७७ सञ्चयकर्ताको आवेदन परेको छ । आवेदनबाट १ अर्ब ९५ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ । सञ्चयकर्तापछि आगामी चैत ५ गतेबाट संस्थापक संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर बिक्री खुल्ला गरिने छ ।

संस्थापक संस्थाका कर्मचारीका लागि रसुवागढीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता सेयर निष्कासन गर्नेछ । यस्तै, ऋणदाता संस्थाका कर्मचारीका लागि पनि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर जारी हुनेछ । सान्जेनले संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँबराबरको १२ लाख ७७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ ।

ऋणदाता संस्थाका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ मूल्यको ३ लाख ६५ हजार कित्ता सेयर छुट्याइएको छ । संस्थापक र ऋणदाता संस्थाका कर्मचारीले चैत १३ गतेसम्म आवेदन दिन पाउने छन् ।
 

Comments