Listen Live

साञ्जेन खोला जलविद्युतमा १५ अर्ब चिनियाँ लगानी स्वीकृत
Posted On: Apr 26, 2018

रसुवा, बैसाख १३ - साञ्जेन खोला जलविद्युत् आयोजना निर्माणमा १५ अर्ब ३८ करोड ७० लाख रुपैयाँ चिनियाँ लगानी स्वीकृत भएको छ । चीनको चाइना हार्वोर इन्जिनियरिङ कम्पनीले ७८ मेगावाटको सो आयोजनामा लगानी गर्न लागेको हो ।

रसुवा जिल्लाको पार्वतीकुण्ड गाउँपालिका– ५ मा बन्ने आयोजना विदेशी लगानी औद्योगिक प्रवद्र्धन बोर्डको २२५औँ बैठकले स्वीकृत गरेको हो । नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा बन्ने आयोजनामा ८ प्रतिशत नेपाली र ९२ प्रतिशत विदेशी लगानी हुने आयोजनाका प्रवद्र्धक विष्णुराज अधिकारीले जानकारी दिए । ‘ड्यु डेलिजेन्स अडिट (डिडिए)मार्फत आयोजनामा हालसम्म भएको लगानी ३५ करोड देखियो, त्यसलाई ८ प्रतिशत कायम गरी आयोजनाका लागि आवश्यक ९२ प्रतिशत विदेशी लगानी ल्याउने गरी स्वीकृति प्राप्त भएको हो,’ अधिकारीले जानकारी दिए ।

आयोजना २० प्रतिशत इक्विटी र ८० प्रतिशत ऋण लगानी गरी निर्माण गरिने जानकारी पनि उनले दिए । आयोजनामा ऋण लगानी गर्न नेदरल्यान्ड्स डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ) सँग सहमति भइसकेको जानकारी उनले दिए । ऋणसमेत विदेशबाटै लिने भएकाले साञ्जेन खोला जलविद्युत् आयोजना सञ्चालन गरी जलविद्युत् उत्पादन गर्ने उद्देश्यले सालासुंगी पावर कम्पनीले बोर्डमा वैदेशिक लगानी स्वीकृतिका लागि निवेदन दिएको थियो ।

सालासुंगी पावर कम्पनीको चुक्ता पुँजी ३५ करोड तथा अधिकृत र जारी पुँजी ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ रहेको छ । ‘कम्पनीमा अहिले अनुमान गरेभन्दा बढी लगानी गर्नुपरेको अवस्थामा पनि नेपाली लगानीकर्ताको सेयर अनुपात ८ प्रतिशतमा नघट्ने गरी विदेशी लगानीकर्ताले नै रकम लगानी गर्नुपर्ने गरी सम्झौता गरिएको छ,’ नेपाली प्रवद्र्धक अधिकारीले जानकारी दिए ।

चाइना हार्वोर इन्जिनियरिङ कम्पनीलाई खरिदबिक्री सम्झौता (एसपिए) अनुसार ३२ लाख २० हजार कित्ता सेयर बिक्री र बाँकी आयोजनामा थप लगानी गर्ने गरी उक्त लगानीलाई स्वीकृत गरिएको हो । विदेशी लगानीकर्ताले लगानी गर्न प्रतिबद्धता व्यक्त गरेको रकम बैंकिङ च्यानलमार्फत ३ महिनाभित्र नेपाल ल्याइसक्नुपर्ने सर्त पनि लगानी स्वीकृति गर्दा राखिएको छ । आयोजनाको विद्युत् खरिद सम्झौता भइसकेको छ भने कम्पनीले उत्पादन अनुमतिसमेत प्राप्त गरिसकेको जनाएको छ । त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (इआइए)समेत स्वीकृत भइसकेको कम्पनीले जनाएको छ ।

आयोजनास्थलसम्म पुग्न ३२ किलोमिटर पहुँचमार्ग बनाउनुपर्नेमा १५ किलोमिटर बाटोसमेत बनाइसकेको अधिकारीले जानकारी दिए । आयोजना निर्माणका लागि इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा १५ जुलाईभित्र निर्माण कम्पनी पनि छनोट गरिने उनले जनाए । ‘अगस्टभित्रमा निर्माण कम्पनीले आयोजनाको निर्माण नै सुरु गर्नेछ,’ उनले भने । आयोजना सन् २०२२ भित्र सम्पन्न हुने लक्ष्य रहेको जानकारी पनि उनले दिए । स्रोत: नयाँ पत्रिका दैनिक 

 

Comments