Listen Live

उर्जामन्त्रीद्वारा रसुवाको ७ वटा जलविद्युत आयोजनाको अवलोकन
Posted On: Apr 29, 2018
उर्जामन्त्रीद्वारा रसुवाको ७ वटा जलविद्युत आयोजनाको अवलोकन

रसुवा, बैसाख १५ – नेपालमा १० वर्षे उर्जा संकट निवारण तथा विद्युत विकास दशकलाई सफल पार्नका लागि १० हजार मेगावट विद्युत उत्पादन गरिने भएको छ । विद्युत उत्पादनका लागि देशमा पर्याप्त जलस्रोत तथा जनशक्ति भएको र अहिलेको सरकार पनि स्थिर सरकार भएकाले उर्जा मन्त्रालयले महोत्वकाक्षीं योजना अघि सारेको हो । 

प्रेस सेन्टर नेपाल रसुवा शाखाले आज चिलिमे जलविद्युत आयोजनामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षभित्रै करिब ६ हजार मेगावट विद्युत उत्पादन हुने बताएका छन् ।  

‘हामीले १० वर्षे योजना बनाएका छौँ, मन्त्री पुनले भने, हाम्रो कार्यकालमा ६ हजार मेगावट विद्युत उत्पादन हुने छ ।’ योजना सफल बनाउनका लागि स्वेतपत्र निर्माण भइरहेको मन्त्री पुनको भनाई छ । निर्माण भइरहेका आयोजनाको मन्त्रालयले तीन÷तीन महिनामा समिक्षा गर्ने छ । 

‘तीन महिनामा आयोजनामा भएको प्रगति, आयोजना भित्र देखिएका समस्या बारे मन्त्रालयमा समिक्षा गर्छौ, उनले भने, आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्नका लागि हाम्रो तर्फबाट नियमित समन्वय गर्छौ ।’

लाइसेन्स होल्ड गर्ने तथा लाइसेन्स बिक्रि गर्नेको लाइसेन्स खारेज गरिने बताइएको छ । लाइसेन्स लिएर काम अघि नबढाएको, सर्वेको लाइसेन्स लिएर काम नगर्नेको लाइसेन्स खारेज गरिने र विद्युत खरिद बिक्रि सम्झौता गरेर काममा ढिलाई गर्नेलाई पनि कार्वाहीको दायरामा ल्याउने मन्त्री पुनले बताए । 

जलविद्युत आयोजना निर्माणले स्थानीयस्तरमा रोजगारीको सृजना, स्थानीयलाई १० प्रतिशत शेयर पाउने व्यवस्था र प्रभावित क्षेत्रमा पूर्वाधारमा भएको विकासका कारण स्थानीयबासीको अपनत्व महसुस गरेकाले आयोजना निर्माण गर्न सहज भएको छ । 

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, उर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जलविद्युत केन्द्रहरुका प्रमुख, नुवाकोटका सांसद लगायतकोे टोलीले रसुवा र नुवाकोटमा निर्माण भएका तथा निर्माणाधिन जलविद्युत आयोजनाको अवलोकन गरेका छन् । 

Comments