Listen Live

​रसुवाको स्थानीय तहमा वजेट निर्माण प्रक्रिया सुरु
Posted On: May 10, 2018


रसुवा, बैसाख २७ – रसुवाका स्थानीय तहले वजेट निर्माण प्रक्रिया सुरु गरेका छन् । असार १० गतेभित्रै वजेट ल्याउनुपर्ने भएकाले जिल्लाका गाउँपालिकाहरुले वजेट निर्माणका लागि प्रक्रिया सुरु गरेका हुन् । 

गत वर्ष हतारमा वजेट ल्याउँदा कार्यान्वयनमा समस्या आएपछि यो वर्ष बैसाखको पहिलो हप्तादेखि नै स्थानीय तहले प्रक्रिया अघि बढाएका हुन् । वजेट निर्माणका लागि विषयगत समितिसँग छलफल, वडास्तरमा गएर योजना छनोट र गत वर्ष छुट्याइएको वजेटको समिक्षा भइरहेको छ । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले नयाँ वजेट बनाउँदा प्राथमिकताको आधारमा वजेट छुट्टयाउने तयारी गरेको छ । योजना निर्माण गर्दा प्रतिफल आउने खालको मात्रै बनाउने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । 

गाउँपालिकाले पर्यटन, संरक्षण र रोजगारी सृजना गर्ने खालका कार्यक्रम बनाउने गरि वडास्तरमा छलफल भइरहेको उनको भनाई छ । विषयगत समितिमा छलफल गरेर वडास्तरमा योजना छनोट गर्ने कार्य भइरहेको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए । 

चालु आर्थिक वर्षका लागि हतारमा वजेट बनाउनु परेकोले कार्यान्वयनमा समस्या आएको उनको भनाई छ ।   गत बैसाखमा स्थानीय तहले पहिलो चोटी वजेट निर्माण गरेका थिए । पहिले पनि विषयगत रुपमा छलफल गरेर वजेट निर्माण गरिएपनि हतारमा ल्याएको वजेट कार्यान्वयन गर्न समस्या भएको उपाध्यक्ष न्यौपानेको भनाई छ ।  

जिल्लाको नौकुण्ड गाउँपालिकाले भने वजेट कार्यान्वयनमा सफलता हात पारेको छ । जिल्लाको पाँच वटा गाउँपालिकामध्ये अन्तिममा वजेट निर्माण गरेको नौकुण्ड गाउँपालिकाले रकम रकमान्तर गरेर भएपनि कार्यान्वयन गरेको छ । 

‘पहिलोचोटी वजेट निर्माण गर्दा हाम्रो गाउँपालिकामा जनशक्ति थिएन्, उपाध्यक्ष लामाले भनिन्, वजेट छुट्टाउँदा स्टेटमेन्ट नगरी छुट्टाएकाले समस्या आएको छ ।’ अब वजेट विनियोजन गर्दा स्थानीयको माग, आवश्यकता र बृहत छलफल गरेर मात्रै वजेट बनाउने तयारी छ । 

योजना निर्माणका लागि गाउँपालिकाका सबै वडाध्यक्षलाई पत्राचार गरिएको उत्तरगया गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत लोकेन्द्र ज्ञावालीले बताए । आर्थिक वर्ष सकिनै लाग्दा कालिका गाउँपालिकाको ५० प्रतिशत, नौकुण्ड गाउँपालिकाको ८० प्रतिशत, गोसाइँकुण्ड गाउँपालिकाको ६० प्रतिशत, आमाछोदिङ्मो गाउँपालिकाको ६० प्रतिशत र उत्तरगया गाउँपालिकाको ५५ प्रतिशत वजेट खर्च भएको छ । 

गाउँपालिकाहरुले सडक, विद्युत र खानेपानी निर्माणमा पहिलो प्राथमिकता दिएका छन् । गाउँपालिकामा आवश्कताअनुसार धार्मिकस्थलहरुको पुनर्निर्माण, पानी घट्ट निर्माण लगायतको कार्य भएको छ । 

Comments