Listen Live

​६ दिने लाङटाङ साहित्यिक यात्रा सुरु
Posted On: May 11, 2018

रसुवा, बैसाख २७ – पर्यटकीय क्षेत्र लाङटाङमा आजदेखि ‘लाङटाङ साहित्यिक यात्रा’ सुरु भएको छ । तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झनामा ६ दिने साहित्यिक यात्रा सुरु गरिएको हो । 

साहित्यको माध्यमबाट मृतकको सम्झना गर्ने, लाङटाङ सुरक्षित भएको सन्देश प्रवाह गर्ने र साहित्यकार पनि पर्यटक हुन् भन्ने नौलो सन्देश दिनका लागि अभियान थालिएको संयोजक तथा साहित्यकार फुर्पा तामाङले बताए ।

कार्यक्रममा साहित्यिक स्रष्टाद्वारा कविता वाचन गरिने र चित्र कोरिने कार्यक्रमका संयोजक तथा साहित्यकार तामाङले बताए । ‘लाङटाङमै गएर मृतकहरुको सम्झनामा कविता सुनाउने छौँ, साहित्यकार तामाङले भने, यसले आन्तरिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने छ ।’

भूकम्पबाट मृत्यू हुनेहरुको सम्झना गरौँ, लाङटाङमै गएर श्रद्दान्जली चढाऔँ, ‘सुन्दरी लाङटाङको काखमै पुगौँ, धीत मरुन्जेल चुमेर आऔँ, आफ्नो देशको माटो चिनौँ, देश चिन्न भ्रमण गरौँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ, स्थानीय अर्थतन्त्र बलियो बनाऔँ, जैविक विविधता र संस्कृतिको संरक्षण गरौँ, साहित्यकारहरु पनि पर्यटक बनौँ भन्ने लगायतका नाराका साथमा यात्रा थालिएको छ । 

यात्रामा रसुवा, नुवाकोट, धादिङ र काठमाण्डौका पत्रकार, साहित्यकार र कलाकार सहभागि भएका छन् । साहित्य यात्रामा ११ जनाको सहभागिता रहेको छ । २०७२ बैसाख १२ गते गएको भूकम्पमा परेर लाङटाङमा तीन सय भन्दा बढीले ज्यान गुमाएका थिए । 

हिमपहिरोले पर्यटकीय क्षेत्रमा बगरमा परिणत गरेको थियो । पहिरोमा परेर लाङटाङका एक सय ७५ जनाको ज्यान गएको थियो । हिमपहिरोका कारण लाङटाङ घुम्न आएका नेपाली तथा विदेशी पर्यटक, गाइड, भरियाहरु र नेपाली सेनाले ज्यान गुमाएका थिए । 

भूकम्प गएपछि लाङटाङबासी काठमाण्डौको पहेँलो गुम्बामा पुगेका थिए । त्यहाँ केही महिना बसेर गाउँ फर्किएका पीडितले लाङटाङलाई पहिले कै अवस्थामा ल्याएका छन् । भूकम्पले क्षति गरेको लाङटाङ पदमार्गको मर्मत तथा सुधार, होटल तथा घरहरुको पुनर्निर्माण हुनुका साथै लाङटाङ सुरक्षित भएको सन्देश फैलिएपछि पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक बढ्दै गएको लाङटाङका सुप्पा तामाङले बताए ।  

पर्यटकीय क्षेत्र लाङटाङमा एक सय १६ घरधुरी बसोबास गर्छन । 

Comments