Listen Live

​रसुवामा नौ सय भन्दा बढी फलफुल र रैथाने जातका विरुवा रोपियो
Posted On: Jun 05, 2018
​रसुवामा नौ सय भन्दा बढी फलफुल र रैथाने जातका विरुवा रोपियो

रसुवा, जेठ २२  – विश्व वातावरण दिवसको अवसरमा रसुवामा नौ सय भन्दा बढी फलफुल र रैथाने जातका विरुवा रोपिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फलफुल र लाङटाङ राष्ट्रिय निकुञ्जको नेतृत्वमा रैथाने जातका विरुवाको वृक्षारोपण गरिएको हो ।

निकुञ्जले रैथाने प्रजातीका ७ सय भन्दा बढी विरुवा रोपेको हो । गुरास, पाटे सल्ला, रानी सल्ला, धुपी सल्ला र उत्तिसको विरुवा रोपिएको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । 

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना, हरित युवा पर्यटन विकास समाज (जिवाइटिडिएस) लगायतको सहकार्यमा विरुवा रोपिएको हो । एक कर्मचारी एक फलफुलको विरुवा कार्यक्रम अन्तरगत दुई सय दुई वटा फलफुलको विरुवा रोपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एक सय वटा कागती, ६७ वटा अंगुर र ३५ वटा अन्जिरको विरुवा रोपिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । अहिले रोपिएका विरुवाको संरक्षणमा विशेष ध्यान दिने उनले बताए । ‘हामीले अहिले रोपेका विरुवा हुर्काउन निरन्तर ध्यान दिन्छौँ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, रोपिएका विरुवा अर्को नेतृत्वलाई हस्तान्तरण गर्ने छौँ ।’

आगामी पाँच वर्षमा फलफुलको उत्पादन सुरु हुने प्रजिअ पौडेलले बताए । जैविक विविधता संरक्षणमा टेवा पु¥याउनका लागि निकुञ्जले प्रकाशन गरेको रेडपाण्डा तथा हिउँचितुवाको पोष्टर र रेडपाण्डाको स्टिकर प्रजिअ पौडेलले विमोचन गरेका छन् ।  

Comments