Listen Live

सानिमाले १४‍‍.३ मेगावाटको माथिल्लो मैलुङ निर्माण गर्दै
Posted On: Jun 12, 2018

रसुवा, जेठ २९ - सानिमा हाइड्रो समूहले रसुवामा निर्माण गर्ने १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाको काम सुरु हुँदैछ । निर्माणपूर्वका सबै तयारी पूरा गरेको कम्पनीले जानकारी दिएको छ । आयोजना सुरु गर्न स्थानीयस्तरमा पूर्वाधार विकासको काम भइरहेको माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीका सञ्चालक सुवर्णदास श्रेष्ठले बताए ।

उनका अनुसार आयोजनाको ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा छ । ‘आयोजना निर्माणमा जान तयार छ,’ उनले सोमबार भने, ‘ठेकेदार छनोट प्रक्रिया पूरा हुनासाथ संरचना बनाउन सुरु गर्छौं ।’ २०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

७५ प्रतिशत ऋण लगानी रहने आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा नेपाल एसबिआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

आयोजनामा सानिमा समूहको सहायक सानिमा माई हाइड्रो पावर कम्पनीले १५ करोड रुपैयाँ लगानी गर्ने तय भएको छ । सानिमा माई र माई क्यासकेडका लगानीकर्तालाई दिर्घकालिन प्रतिफल दिन मैलुङमा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना पूरा भएपछि वार्षिक ७ करोड ९६ लाख ७० हजार ४ सय ८३ किलो घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादन हुने विद्युत त्रिशूली थ्रि बी सबस्टेसनमा लगेर जोडिनेछ । सानिमा समूहले माथिल्लो मैलुङसँगै ७३ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु आयोजनाको निर्माण प्रक्रिया पनि एकसाथ अघि बढाएको छ ।

स्रोत : उर्जा खबर

Comments