Listen Live

डाक्टर कुर्दै पीडामा बिरामी, पत्रकारमाथि डाक्टरको दुव्र्यवहार
Posted On: Jul 06, 2018
डाक्टर कुर्दै पीडामा बिरामी, पत्रकारमाथि डाक्टरको दुव्र्यवहार

दिपक लामा
रसुवा ।  रसुवाका ७० वर्षीय रेन्जेन छोवाङ दुई दिनदेखि हात सुनिने समस्याबाट पीडित थिए । घरेलु प्राथमिक उपचार गर्दा पनि निको नभएपछि उनी सदरमुकाम धुन्चेमा रहेको जिल्ला अस्पतालमा उपचारका निम्ति गए ।  

निरक्षर छोवाङलाई उपचारको प्रक्रियाबारे जानकारी थिएन् । जानकारी नभएका उनीले नजिकै रहेका टिकट काट्नेसँग सोधे, “मैले उपचारका निम्ति के गर्नु पर्छ ?” टिकट काट्नेले भने “टिकट काट्नु पर्छ र डाक्टरलाई देखाउनुपर्छ” । ठीक १० बजे टिकट काटेका उनी उपचारको निम्ति बहिरङ्गी सेवा (ओपिडि) कक्षमा पुग्दा ढोकामा ताल्चा लगाएको थियो । ओपिडि कक्षको बाहिर रहेको कुर्सीमा ११ बजेसम्म बस्दा पनि डाक्टर आएनन् ।

डाक्टर नआएपछि उनले टिकट काट्नेलाई सोधे । टिकट काट्नेले पनि समयमा डाक्टर नआउँदा सधै बोलाउन पर्ने समस्या देखाए । सेवाग्राहीका रूपमा पुगेका स्थानीय पत्रकार दिपक लामालाई डाक्टर बोलाउन छोवाङले अनुरोध गरे ।

पत्रकार लामाले जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. गुणनिधि शर्मालाई समयमा डाक्टर अनुपस्थिति हुनुको कारणबारे फोन गरी सोधपुछ गर्दा “राष्ट्रियस्तरको मिडियामा समयमा डाक्टर उपस्थिति नहुने समाचार लेख्न÷छाप्न तथा प्रशारण गर्दिए हुन्छ” भन्ने जस्ता गैरजिम्मेवारी पूर्ण जवाफ दिई पत्रकार लामालाई दुरव्यवहार गरे  । यो घटना मंगलबारको हो ।   
बिहीबार कार्यालय समयमा जनता टेलिभिजन, नयाँ पत्रिका राष्ट्रिय दैनिक, सप्तकुण्ड साप्ताहिकका सम्पादक मण्डलका सदस्य तथा रेडियो रसुवाका स्टेशन म्याजेर पत्रकार अनु आचार्यले जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख शर्मालाई तपाईको जिल्ला अस्पातमा डाक्टर, नर्सको दरवन्दी कति छ ?

अस्पतालमा दैनिक विरामी कति आइरहेका छन् ? भनी सूचना माग गर्दा समेत “तिमीलाई मैले अस्पतालको बारेमा बताइरहनु आवश्यक छैन भन्दै मेरो बारेमा भिडियो, फोटो, समाचार जे गरे पनि हुन्छ ।” भन्ने जस्ता गैरजिम्मेवार पूर्ण जवाफ दिँदै दुरव्यवहार गरे । त्यस लगतै जिल्ला स्वास्थ्य कार्यालय, रसुवामा कार्यरत सि.अ.हे.व.नवराज न्यौपानेले पत्रकार आचार्यलाई फोन गरी घटना बाहिर नल्याईदिन आग्रह गरेका थिए ।

हरेक सरकारी तथा सार्वजनिक कार्यालयमा सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गरे पनि जिल्ला अस्पताल मार्फत वार्षिक रुपमा प्रकाशन गर्ने विभिन्न गतिविधि हालसम्म प्रकाशन नगरेको र सूचना माग गर्दा नदिने गरेको नेपाल टेलिभिजनका स्थानीय संवाददाता सुशिल कोइराला गुनासो गरे ।    

सूचनाको हक २०६४ को परिच्छेद २ को सूचनाको हक र सूचना प्रवाह सम्बन्धी व्यवस्था अन्तर्गत दफा ३ को सूचनाको हक हुने उपदफा १ मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधिनमा रही सूचनाको हक हुनेछ । उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भन्ने व्यवस्था रहेको छ । दफा ४ को सार्वजनिक निकायको दायित्वको उपदफा १ मा प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु गराउनु पर्नेछ भनी उल्लेख गरिएको छ ।

कानुनले स्पष्ट सूचनाको हकबारे व्यवस्था गरेपनि सार्वजनिक निकायको  जिम्मेवार पदमा बसेका शर्माले सो व्यवस्थाको पालना गरेनन् । स्वास्थ्य सेवा नियमावली २०५५ को परिच्छेद ७ को हाजिरी र बिदाको ४७ मा कार्यालय समय, समयपालन र हाजिरी सम्बन्धी व्यवस्था अनुसार नेपाल सरकारद्वारा सरकारी कामकाजको निमित्त निर्धारित कार्यालय समयमा नियमित रुपमा आफ्नो कार्यालयमा हाजिर हुनु पर्छ । निर्धारित समयमा उपस्थित हुन नसक्ने कर्मचारीलाई सम्बन्धित कार्यालय  प्रमुखले गयल गर्न सक्ने व्यवस्था छ ।

तर महिनाको तीन पटकसम्म निर्धारित समयभन्दा पन्ध्र मिनेटसम्म ढिला गरी आउने कर्मचारीलाई कार्यालयको प्रमुखले कैफियत जनाई हाजिर गर्न दिन सक्नेछ । सो व्यवस्थाको पनि शर्माले कार्यान्वयन गरेका छैनन् । 

नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई नागरिक समाजबाट समन्वयकारी भूमिका खेल्न जिल्ला अस्पताल व्यवस्थापन समितिको गठन गरेको छ । तर रसुवाको हकमा सो समितिको कुनै जनहितकारी गतिविधि नहुँदा कर्मचारीको मनोमानी बृद्धि भएको समेत देखिन्छ । तसर्थ सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ । 

Comments