Listen Live

रसुवामा पहिरो परि ९ जनाको मृत्यु
Posted On: Jul 26, 2018
रसुवामा पहिरो परि ९ जनाको मृत्यु

अनु आचार्य, रसुवा
रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेकी ४२ बर्षिय पोक्की तामाङ बुधबार राति ११ बजे खाना खाएर सुतिन् । सुतेको केहि समयपछि चट्याङ पर्या जस्तै आवाज उनले सुनिन्  । एक्कासी कहालीलाग्लो आवाज आउन थाल्यो । अनि उनी जुरुक्क उठिन । यताउति हेर्न थालिन । बाहिर हेर्दा माथिबाट पहिरो आईरहेको उनले देखिन् । उनी सँगै छेउमा सुतिरहेका दुई जना छोरी सहित उनी भाग्न खोजिन् तर छोरी सहित उनी घरभन्दा तल गुल्टीइन् । त्यसैबेला उनलाई ठुलो ढुङगाले टाउकोमा लाग्यो । अनि उनी बेहोस भइन् । केहि बेर पछि उनलाई होस आयो । छेउमै दुईजना छोरा छोरी  बाबा आमा भन्दै रोई चिच्याई रहेको देखिन् । सकि नसकि उनी उठिन् । छेउमै उनका श्रीमान बेहोस अवस्थामा लडिरहेको देखिन् । बर्षासँगै ठुलै पहिरो चलिरहेको थियो । सकि नसकि आफु सहित आफनो परिवारको ज्यान जोगाउन तर्फ लागिन् । उता उनको घरसँगै जोडिएको घरको श्रीमान श्रीमती पहिरोमा पुरिएको देखिन् ।  उनी भन्छिन् बेहोस अवस्थामा रहेका श्रीमान र छोरीलाई अर्को ठाउँ तिर लडाईदिए जसले गर्दा हामी बाच्न सफल भयौँ,

चारैतिरबाट कहालीलाग्दो आवाज सुनेकि उनले चार पटक सम्म छिमेकीलाई बोलाईन तर कोहि बोलेनन् । अनि छोराछोरी एउटा सिस्नोको झाडिमा चिच्याईरहेको देखेपछि सकि नसकि उनले झिस्नोझाडिबाट आफनो छोराछोरी निकालीन् ।  परिवार सहित सुरक्षित ज्यान जोगाउन खोजेकी तामाङले कहिले जस्तामा त कहिले भुईमा बजारिईन् । उनी भन्छिन कहाँ ठोकियो के के भयो थाहै भएन् । पछि कसले उपचार गर्यो के गर्यो मलाई केहि थाहा भएन् । 

नयाँपत्रिकासँगको कुराकानीमा आखँै अगाडि  छेउकै घरमा मान्छे पुरिएको सम्झिदै उनी भक्कानीइन् । उनी सहित उनका श्रीमान ५८ बर्षिय देवबहादुर तामाङको टाउका,े कम्मर, खुट्टा लगायतका स्थानमा गहिरो चोट लागेको छ । उनीहरु सहित पहिरोमा परि १२ जना घाईते भए । ७ जना उपचार पश्चात घर फर्किएको र  गम्भिर घाईते ५ जनाको उपचारका लागि काठमाण्डौ पठाईएको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए । 

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा बुधबार राति गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ का मिङमर गोम्बो तामाङ, वडा नम्बर २ का दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ सिमो घले, नुवाकोटकी शर्मिला कमिनी, नुवाकोट ककनी गाउँपालिकाका सुमो चालक रमेश तामाङ, सिन्धुपाल्चोक भोटेकोसी गाँउपालिका वडा नम्बर ५ का श्याम श्रेष्ठ, मंगल तामाङ, विक्रम श्रेष्ठ र भोटेकोसी गाउँपालिका वडा नम्बर ४ का सुस खड्का रहेको प्रहरी नायब उपरिक्षक तामाङले बताए । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ । पहिरोमा टिमुरेमा रहेको टासी देले नामक होटल समेत पुरिएकाले त्यहाँ कति मानिस बसेका थिए भन्ने यकिन नभएको र खोजीकार्य जारी रहेको तामाङको भनाई छ ।

बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासी सहितको टोली सक्रिय रहेका थिए । रसुवागढी जलविद्युत आयोजना र सडक डिभिजन कार्यालयको डोजर र स्काभेक्टर प्रयोग गरी हराएकाहरुको खोजीकार्य भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । पहिरोमा परी ज्यान गुमाउनेहरू टिमुरेमा व्यापार गर्दै आएका व्यवसायी, कामदार तथा कन्टेनर र सुमोका चालक रहेको बताइएको छ । 

पौने १ बजे अविरल वर्षासँगै आएको पहिरोले टिमुरेस्थित प्रहरी चेक पोस्टसहित चारवटा घर पुरिएको थियो । नेपालबाट चीनको केरुङतर्फ सामान लिन जान लागेका ५ वटा कन्टेनर पनि पहिरोले पुरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । रसुवा प्रहरीका अनुसार ना ५ ख ७००७, ना २ ख ३६६३, ना ३ ख ७७२० नम्बरको कन्टेनर, ना २ ख ८६८९ नम्बरको एल्पी ट्रक र नम्बर नखुलेको टिपर पहिरोमा पुरेको छ । पहिरोपछि चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी अवरूद्व भएको छ । सडक र नाका शुक्रबार दिउँसो सम्ममा सञ्चालनमा ल्याउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।  

 

Comments