Listen Live

अब स्वास्थ्य संस्थामै निःशुल्क एचआईभी परिक्षण
Posted On: Jul 27, 2018
अब स्वास्थ्य संस्थामै निःशुल्क एचआईभी परिक्षण

रसुवा । जिल्लाभरका २६ वटै स्वास्थ्य संस्थाबाट निःशुल्क एचआईभी परिक्षण सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आमाबाट बच्चामा सर्न सक्ने सम्भावनालाई न्युनीकरण गर्नु यस्तो कार्यक्रम सुरु गरेको जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रसुवाका कार्यक्रम अधिकृत नबराज न्यौपानेका अनुसार गाउँ गाउँका सवै स्वास्थ्य चौकीहरूमा प्रारम्भिक परीक्षणका क्रममा संक्रमण देखिएमा जिल्लामा रहेको एआरटी सेन्टरमा पूर्ण परीक्षण गरेर संक्रमित भेटिएमा एचआईभी बिरुद्ध नियमित औषधी सेवन गराइनेछ । अहिले आमाबाट बच्चामा सर्ने २० देखि ४५ प्रतिसत संक्रमणलाई रोकथाम गर्न सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम अन्तगत अभियान सुरु भएको हो । 

जिल्लाभरका सवै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई तलिम दिएर आवश्यक औषधी र उपकरणहरू समेत प्रदान गरिएकोले र केन्द्रबाट पनि जिल्लामा आवश्यक सवै सामग्री आएकोले कार्यक्रम सुरु हुन लागेको न्यौपानेले बताए ।  

कार्यक्रमले एचआईभीको माहामारी रोकथाम गर्न सहयोग मिल्ने भएकोले आवश्यक स्वास्थ्य सेवा बारे प्रचार हुनु पर्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विजय रिमालले बताए ।  हालसम्म जिल्लामा एचआईभी संक्रमितहरूको एकीन तथ्यांक नभएपनि १० भन्दा बढी सङ्क्रमित व्यक्तिहरू नुवाकोटबाट उपचार सेवा लिइरहेको जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस अघि बर्थिङ सेन्टरमा मात्र उपलव्ध रहेको सेवा जिल्लाको सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट नियमित गर्भजाँच गर्दा प्रदान गर्ने र सेवा समुदाय स्तरसम्म पु¥याउनुको उद्देश्यले कार्यक्रम सुरु भएको र  आफ्नो स्वास्थ्य अवस्था थाहा नभएका महिलाहरूको अवस्था पत्ता लगाउने र यदि सङ्क्रमण भएको पाइएमा सुरक्षित प्रसुति गराउनका साथै समयमै उपचार सुरु गरी बच्चामा सर्न सक्ने सङ्क्रमणको सम्भावनालाई न्युनीकरण गरिने अधिकृत रिमालले बताए । स्वास्थ्य संस्थामा परीक्षण किट गर्भवती महिलाहरूको अवस्था पत्ता लगाउने प्रयोजनको लागि कार्यक्रम रहेपनि क्षयरोगी वा यौन रोगबाट संक्रमित बिरामीहरू पनि परीक्षण गरिनेछ । 

नेपालमा सन् १९८८ मा पहिलो एचआईभी सङ्क्रमित व्यक्ति पत्ता लागे पश्चात सन् २००७ सम्म यसको व्यापकता चरम विन्दुसम्म पुग्यो । अहिलेको अवस्थासम्म आइपुग्दा नेपालमा जम्मा ३१ हजार जना सङ्क्रमित व्यक्तिहरु रहेको अनुमान गरिएको छ । सोही तथ्याङ्क अनुसार १५ वर्ष देखि ४९ वर्षसम्मका मानिसहरूमा बढि संक्रमण देखिएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले हालसम्म ५९ जिल्लाका जम्मा ७४ ठाउँमा एआरटी केन्द्रको स्थापना गरिसकेको छ । प्रायः उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा एचआईभी सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या कम रहेको र कतिपय ठाउँहरूमा दक्ष जनशक्तिको समेत अभावले गर्दा बाँकी जिल्लाहरूमा एआरटी केन्द्र स्थापना हुने क्रममा रहेको छ । 

Comments