Listen Live

स्थानीय तहमा कार्यकर्तालाई पालन पोषण गर्ने गरी योजना बनाउने प्रवृतिले गर्दा बजेट सही सदुपयोग भइरहेको छैन ।
Posted On: Sep 08, 2018
स्थानीय तहमा कार्यकर्तालाई पालन पोषण गर्ने गरी योजना बनाउने प्रवृतिले गर्दा बजेट सही सदुपयोग भइरहेको छैन ।

आमा रिक्ती तामाङ र बुबा छेदर तामाङको कान्छा सुपुत्र पेम्बा छिरिङ तामाङ वि.सं. २०२६ साल भदौ १५ गते रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेँशी जन्मिएका हुन् । वि.सं. २०४६ देखि पञ्चायत विरुद्ध नेकपा जनमोर्चा पार्टीको मजदुर संगठन भक्तपुरबाट राजनीति शुरुवात गरेका उनी वि.सं. २०५० देखि नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्य भएका थिए । नेपाली कांग्रेस पार्टी रसुवाको दशौँ महाधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएका उनी वि.सं. २०६४ देखि २०७० सम्म लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तरगतको सूर्यकुण्ड मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष भएका थिए । वि.सं.२०६६ र  वि.सं. २०७० मा दूर्गम क्षेत्र विकास समितिको केन्द्रीय सदस्य समेत भएका उनी वि.सं. २०७२ साल फागुन १७ को तेह्रै महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएको हुन् । उनै तामाङसँग रसुवाको राजनीति एवम् समसामयिक विषयमा सप्तकुण्ड साप्ताहिकद्वारा गरिएको कुराकानीको मुख्य अंश ः  

सभापति जस्तो गरिमय पदमा आईपुग्दा तपाईको दृष्टिकोेणमा राजनीति के हो ? 

मैले वि.सं. २०४६ सालको पञ्चाय विरुद्धको आन्दोलनदेखि काठमाडौँमा बसेर राजनीति शूरू गरेको हो । वि.सं. २०५० सालमा रसुवा जिल्ला आईसकेपछि नेपाली कांग्रेस पार्टीको सदस्य लिई जिल्ला मै राजनीतिमा सक्रिय भूमिकामा रहदै आइरहेको छु । जिल्लामा हुने खानेहरुले गरिब वर्ग माथि अलि बढी नै थिचोमिचो गरिरहेको अवस्था थियो । मलाई लाग्यो राजनीतिबाटै यो समाज परिर्वतन गर्न सकिन्छ भनेर मैले राजनीतिलाई छोडेन, निरन्तर नेपाली कांग्रेस रसुवामा काम गरिरहँदा मलाई राजनीति भनेको जनताको लागि निश्वार्थ भवनाले इमान्दारितापूर्वक सेवा गर्ने समाजिक संस्था जस्तो लग्छ । अहिले म व्यवसायहरुलाई त्यागी राजनीतिलाई नै कर्मको रूपमा लिई जनताको सेवा गर्ने गरी जिल्लामा काम गरिरहेको छु । 

नेपाली कांग्रेस रसुवा गतिविधि शून्य जस्तो देखिन्छ, यस्तो शुन्यता किन ? 

तपाईको यो प्रश्न अलि ठिक पनि छ, अलि बेठिक पनि छ । नेपाली कांग्रेस २००७ सालदेखि जनताको अधिकार र मुक्तिको लागि संघर्ष गर्दै आईरहेको पार्टी हो । प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहको निर्वाचन पश्चात् केन्द्रीय समितिले पार्टीको विधानमा संघीय प्रणाली अनुसारको पार्टीको संरचनामा लैजान नसक्दा पार्टीको गतिविधि नभएकै हो । संघीय प्रणाली अनुसारको पार्टी संरचना नभएको हुँदा गाउँ गाउँमा गएर कार्यकर्ता बीच कार्यक्रम गर्न सकिरहेको छैन । अब यही मंसिर ५ देखि ९ गतेसम्म हाम्रो पार्टीको महासमितिको सभा बस्दै छ, त्यस महासमिति सभाबाट पार्टीलाई संघीय प्रणाली अनुसारको संरचनामा जाने विधान पारित हुँदैछ । त्यसपछि हामी जिल्लामा गाउँ गाउँमा संगठनलाई सुदृढ गर्ने तयारीमा छौँ । 

नेपाली कांग्रेसले रसुवाको परिर्वतन र विकासमा कस्ता कस्ता भूमिका निर्वाह गर्दै आएको छ ?

रसुवा विकासको हरेक दृष्टिकोणले सम्भवना नै सम्भवना भएको जिल्ला हो । अब नेपाली कांग्रेस रसुवाको विकास र परिवर्तनको दृष्टिकोणलाई लिएर हेर्ने हो भने रसुवालीले पुरानो शैलीको व्यवसाय र कृषि पेशलाई आधुनिकरण गर्नु पर्छ भन्ने हाम्रो सोच हो । अहिलेसम्म पनि रसुवाली जनता पुरानै परम्परा अनुसार व्यवसाय गर्दै आईरहेका छन् । यसलाई परिवर्तन गर्नु पर्छ । नेपाली कांग्रेसले अब यो पुरानो परम्परागत खेतीलाई आधुनिकरण गर्ने गरी कृषिलाई जोड दिने र पर्यटन विकास गराउने योजना बनाउने र जलविद्युत निर्माण आयोजनाहरुलाई व्यवस्थापन गर्ने खाका बनाएको छ । यस सम्बन्धमा जिल्लाका जनप्रतिनिधिहरुलाई व्यवस्थापनको लागि जोडदिने, सल्लाह सुझाव गर्ने कामहरु भइरहेको छ । 

यहाँको लोकतान्त्रिक अन्दोलनको विकासका सम्बन्धमा नेपाली कांग्रेसले कुनै संस्थागत अध्ययन अनुसन्धन गरेको देखिन्दैन यो तहको निष्कृयता किन ? 

नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको विकासको क्रममा कुनै संस्थागत अध्ययन अनुसन्धन गर्दै नगरेको त होईन तर कुरा के साचो हो भने हामीले जिल्ला पार्टीको बारेमा लिखित रूपमा व्यवस्थापन नगरेकोले जनता माझ देखाउन मात्र नसकेको हो । यसको सबै डाटा केन्द्रीय समितिमा पाउँन सकिन्छ । रसुवामा नेपाली कांग्रेस पार्टीको स्थापना र विकासक्रमलाई हेर्ने हो भने किशोर शम्शेर राणाले पार्टी ल्याएर सुरूवात गरिदिएको देखिन्छ । त्यस पछि जिल्ला समितिको महाधिवेशनबाट निर्वाचित पहिलो पार्टी सभापतिमा ठाकुर देवाकोटा हुनु भएको रहेछ । त्यसपछि नेपाल कांग्रेस पार्टी विभाजन भयो । त्यसपछि पनि धेरै पार्टी सभापतिहरु भएका छन् । तर पछि नेपाल कांग्रेस पार्टी एकीकारण भएपछि एक कार्यकाल लाले तामाङ, लोप्साङ तामाङ र दुई कार्यकाल लामाकार्पू तामाङले सभापति चलाउनु भयो र अहिले मैले सभापतिको पदमा काम गरिरहेको छु । 

रसुवामा नेपाली कांग्रेसले राजनीतिलाई विक्री वितरणको माल बस्तु जस्तो गरी विक्री गरेको देखिन्छ, यो त राजनीतिक मूल्य मान्यताको विपरीत भयो नि ? 

तपाईको प्रश्नमा मेरो दुई मत छैन, म पनि स्वीकार छु । वि.सं. २०५८ को आम चुनावदेखि नै रसुवाको राजनीति बिग्रिएको हो । त्यतिखेरको राजनीतिक दल भनेको नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातान्त्रिक पार्टी थियो । त्यति खेरदेखि नै राजनीति कसरी बिग्रियो भने पहिले पञ्चायत व्यवस्था नराम्रो भनेर फालिएका राष्ट्रिय प्रजातान्त्रिक पार्टीसँग नेकपा एमालेले गठबन्धन गर्दा एमालेको तर्फबाट उम्मेद्धार नै उठेन र नेपाली कांग्रेस र राप्रपाको चुनाव भयो । त्यस चुनावमा राप्रपाले एमालेसँग मिलेर जनतालाई बिस रूपैयाँले मत खरिद गरेको थियो । त्यहीदेखि नै अहिलेसम्म रसुवाको राजनीति बिग्रिएको छ । अब जे भयो भयो यसलाई सुधार गर्न हामीले हाल निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको भावना बुझेर काम गर्न, जनताको मन जित्ने गरी काम गर्न निर्देशन र अनुरोध गरेका छौँ । 

विभिन्न निर्वाचनमा नेपाली कांग्रेसले जनता बीच गरेको प्रतिबद्धता कति पुरा भएको छ ? कति पुरा हुन बाँकी छ ? 

नेपाली कांग्रेसले निर्वाचनको दौरानमा जनतालाई दिन नसकिने अश्वासनहरु बाडिएको छैन । निर्वाचनको दौरानमा म आफै रसुवाको सबै वडाहरुमा गएको छु । अन्य पार्टीले जस्तो हामी निर्वाचित भइसकेपछि भोली नै पाँच हजार बृद्ध भत्ता दिउँला भनेको छैन । यस्तो झुठो अश्वासन दिएको छैन । रसुवामा सम्भावना भएको योजनाहरु मात्र निर्माण गरी दिने कुरा गरेका छौँ । विकासको पहिलो पाइला भनेको सडक नै हो भन्ने सोचले प्रतिनिधि सभा सदस्य मोहन आचार्यले व्यक्तिगत लगानीमा २ वटा डोजर खरिद गरी सकड नभएका स्थानहरुमा सडक निर्माण गर्ने कार्यहरु भइरहेको छ । तल्लो भेगमा धेरै ठाउँहरूमा सडक निर्माण भइसकेको छ र अहिले मथिल्लो भेगमा सडक निर्माण गर्ने काम भईरहेको छ । 

जनताका आधारभूत अवश्यकता अझै पुरा भएको छैन । तपाईहरु जनताका लागि राजनीति गरिरहँदा जनताको आधारभूत अवश्यकता पुरा नभएको देख्दा राजनीतिको औचित्य रहेको महशुस गर्नु हुन्छ ? 

यो प्रश्न धेरै हदसम्म ठीकै पनि छ । भौगोलिक जटिलताले रसुवा विकास गर्न अलि कठिनाई भइरहेको छ । सडक पु¥याउन, अन्य विकासका गतिविधिहरु गर्न, त्यस ठाउँसम्म पुग्न र पु¥याउन कठिन भइरहेको छ । मैले पहिले नै अनुरोध गरे रसुवा हरेक हिसावबाट सम्भावना नै सम्भावना भएको जिल्ला हो । विकास भन्ने कुरा एकै चोटि भइहाल्ने कुरा पनि होइन । यहाँ ठूलो अवसरको रूपमा रहेको अन्तर्राष्ट्रिय नाका रसुवागढी नाका, पर्यटन, जल विद्युतले विकासका सम्भावनाहरु भइरहेको छ । यस कुराहरुलाई सबैले हातेमालो गर्दै जनताको आधारभूत अवश्यकताहरूलाई पु¥याउनु पर्दछ । 

स्थानीय तहको निर्वाचनपछि रसुवाका स्थानीय सरकारले गरिरहेका कामलाई नेपाली कांग्रेसले कसरी हेरिरहेको छ ? 

स्थानीय सरकार भनेको अधिकार सम्पन्न सरकार हो । यसले आफ्नो काम आफैले गर्न सक्छ तर अहिले हामीलाई लाग्न थालेको कुरा चै के हो भने स्थानीय सरकारले आफ्नो अधिकारभन्दा पनि अलि बढी अधिकार लिइरहेको जस्तो लाग्छ । जनतालाई हिजो निःशुल्क रूपमा उपलब्ध हुने सुविधा तथा सेवामा कर लिइरहेको छ । एकलौटी ढङ्गबाट योजना बनाउने, पारित गर्ने, योजना आफ्नै कार्यकर्तालाई उपभोक्ता बनाएर कार्यकर्ता पलान पोषणा गर्ने गरेकोले बजेट सही सदुपयोग भइरहेको देखिन्दैन । यस्तो गलत गतिविधिलाई स्थानीय सरकारले नसुधारे नेपाली कांग्रेसले आन्दोलन,  खबरदारी, विरोधका काम गर्नेछ । 

हाल स्थानीय सरकारले जनतालाई समस्य पार्ने गरी बृद्धि गरेको कर नियन्त्रणको सम्बन्धमा नेपाली कांग्रेसको धारण के कस्तो छ ?

सरकारले पहिला जनताको आय आर्थिक बृद्धि गर्ने, रोजगारी बृद्धि गरी जनता सम्पन्न भए पछि मात्र सरकारले जनतासँग कर लिने हो । अहिले नेपाली राती खाए विहान के खाने, विहान खाए राती के खाने भन्ने बेलामा जनताले सरकारलाई कसरी कर तिर्न सक्छ । यस सिलसिलामा नेपाली कांग्रेस केन्द्रीय समितिले देशै भरी कांग्रेस पार्टीबाट जितेको जनप्रतिनिधिहरुलाई बोलाए ३ दिने प्रशिक्षणमा जनताको ढाडा सेक्ने गरी कर नलिन निर्देशन समेत गरिएको छ । 

रसुवागढी नाकामा मानवीय तस्कारी र अन्य ब्यापारजन्य तस्कारी बढ्दो क्रममा देखिन्छ । यसले गर्दा नाका बदनाम भईरहेको छ । यसको नियन्त्रणमा नेपाली कांग्रेस कसरी प्रस्तुत भएको छ ? 

रसुवागढी नाकामा जति पनि तस्करी भइरहेको छ, त्यो धेरै जस्तो अन्य जिल्लाबाट बसाईसराई गरी आएका व्यक्तिहरुद्वारा भइरहेका छ । अन्य जिल्लाबाट बसाईसराई गरी रसुवामा सीमा पास बनाएका  व्यक्तिले सुन तस्कारी गर्ने, अन्य गैर कानुनी कामहरु गर्ने भएको हुँदा रसुवागढी नाका अलि बदनाम भइरहेको छ । यसलाई व्यवस्थापन गर्न जनप्रतिनिधि आइसकेपछि अनियमित रूपमा बसाईसराई नगर्न हामीले अनुरोध गरेका छौँ । पहिलेका सचिवहरुको समयमा भन्दा पनि अहिलेको जनप्रतिनिधिहरूको समयमा बढी बसाईसराई भइरहेको छ । यो नै मुख्य समस्या हो ।  


भूकम्पपछिको पुनर्निर्माणमा राजनीतिक दलहरुको शूल्य सहभभागिताले एकीकृत बस्तीहरुको निर्माण गर्न सकिएको छैन । पुनर्निर्माणका सन्र्दभमा तपाईहरु किन क्रियाशील नहुनु भएको हो ? 

हामीले भुकम्पबाट विस्थापितहरुलाई कसरी पुनर्वास र व्यवस्थापन गर्ने भन्ने बारेमा मासिक बैठक बासी भूकम्पपछिको पुनर्निर्माणको निर्णायहरु गरिरहेकै छौँ  । तर केही बस्ती बस्न असुरक्षित ठाँउहरूमा भूगर्व विद्द्वारा अनुगमन निरीक्षण गर्ने कामहरू भइसकेको छ । यो सबै राजनीतिक दलहरुको सक्रियतामा भएको हो । जनताको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण आयोगका सिइओलाई भेट्ने समस्या राख्ने, रसुवामा सिइओलाई ल्याउने कामहरु राजनीतिक दलहरुले गरिरहेका नै छौँ । त्यसपछि भूगर्व विद्ले बस्ती बस्न अयोग्य भनिएका ठाउँहरूको जनतालाई सुरक्षित बासका लागि हाकुको गोगनेका लागि माथि तिरुमा, सानो हाकुलाई तल्लो पाङ्लिङमा र पाजुङलाई गोल्जुङबँेशीमा बस्ती स्थान्तरण गरी एकीकृत बस्ती विस्तार गर्ने योजना छ । बाँकी हामीले स्थानीय सरकारका जनजप्रतिनिधिहरुलाई जानकारी दिने र झगझगाउने काम गरिरहेका नै छौँ । 

 

Comments