Listen Live

श्रामिक, मजदुरको स्वास्थ्य, दुर्घटना बीमा निःशुल्क हुनु पर्छ ।
Posted On: Oct 08, 2018
श्रामिक, मजदुरको स्वास्थ्य, दुर्घटना बीमा निःशुल्क हुनु पर्छ ।

आमा तेन साङ्मो तामाङ र बावु छिरिङ फिन्जो तामाङका सुपुत्र दावा पेम्बा तामाङ २०१० साल पुष १५ गते रसुवामा जन्मिएका हुन् । २०२८ सालमा जिल्ला हुलाक कार्यालयमा मुखिया पदमा रहेका तामाङले २०३३ सालदेखि जिल्ला स्वास्थ्य कार्यालयमा जुनियर अहेवा पदमा रहि सेवा गरका थिए । २०४५ सालदेखि जयकाली माता निर्माण सेवा फर्म दर्ता गरी निर्माण व्यवसायमा संलग्न तामाङ २०६७ सालदेखि निरन्तर निर्माण व्यवसायी संघ, रसुवाका अध्यक्ष छन् । २०७५ असोज ६ गतेको निर्माण व्यवसायी महासंघको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित तामाङसँग समग्र निर्माण व्यवसायसँग सम्बन्धित रहेर रेडियो रसुवाद्वारा गरिएको कुराकानीको मुख्य अंश ः 

रसुवामा निर्माण व्यवसायी संघको अवस्था कस्तो छ ? 
निर्माण व्यवसायी संघ, रसुवाको अवस्था पहिलाको भन्दा अलि सुधार र चुस्त छ तर सत्य के हो भने अन्य जिल्लाको निर्माण व्यवसायी संघ जति  व्यवस्थित सांगठनिक रूपमा सञ्चालन गर्न सकिरहेको छैन । निर्माण व्यवसायी संघ नियमित रूपमा संस्थागत विकासका कामकाज गरिरहेपनि संघमा आवद्ध साथीहरू संघको नियमित बैंठक र छलफलमा सहभागी नभईदिँदा अझ बढी संस्थागत विकास गर्न सकिरहेको छैन । तर यसलाई जीवित राख्ने काम भईरहेको छ । 

रसुवामा निर्माण व्यवसायी संघ गठन कहिले भएको हो र यसले संस्थागत रुपमा के के काम गरिएको छ ?  
निर्माण व्यवसायी संघ, रसुवाको सांगठनिक विकासको कुरा गर्ने हो भने  वि.सं. २०५६ सालतिर सम्ममा रसुवामा छुट्टै संघ दर्ता थिएन, नुवाकोटमा आवद्ध थिए । एक साल पछि वि.सं. २०५७ साल पछि निर्माण व्यवसायी संघ, रसुवा नामबाट विधान बनाएर लामा रेन्जेन घलेको नेतृत्वमा छुट्टै संघ दर्ता गरियो । लामा रेन्जेन घले पछि छोवाङ ढिण्डुप तामाङ (केर्सिङ) र अरु दुई कार्यकाल अरु दुई जना र वि.सं. २०६७ साल पछि मैले नेतृत्व गरिरहेको छुु । भुकम्पले कार्यालयको केही सामानको क्षति भए पनि संघको नाममा रहेको आर्थिक जिन्सीहरु जस्ताको तस्तै छ । संघको कार्यालय भवन निर्माण गर्ने योजना भए पनि आर्थिक अभावका कारण हालसम्म निर्माण गर्न सकिरहेको छैन । अब म केन्द्रीय सदस्य भईसके पछि यो भवन निर्माण गर्न पनि सफलता प्राप्त हुन्छ कि भन्ने आशा लिएको छु । 

निर्माण व्यवसायी संघ रसुवामा कुन कुन वर्गका कति निर्माण व्यवसायीहरु छन ?
 निर्माण व्यवसायी संघ रसुवामा हालसम्म जम्मा १ सय १७ जना सदस्यको फर्म दर्ता गरिएको छ । जसमा क वर्ग एक जना, ख वर्गको छैन, ग वर्ग एक जना र घ वर्गका १ सय १५ जना निर्माण व्यवसायीका फर्म दर्ता छन् । हाम्रो जिल्लामा क वर्गको निर्माण व्यवसायी फर्म अरु पनि रहेपनि सुर्यचन्द्र निर्माण सेवा मात्र जिल्लामा दर्ता भएको छ ।  

रसुवा जिल्लामा ठेक्का निस्कियो भने जहिले पनि सिन्डिकेट जस्तै ५÷६ जनाले मात्र रोटेशन प्रणालीमा ठेक्का पाउँछ । अरु त कर तिरेर मात्र बस्नु परेको छ भनिन्छ नि ? 
ठेक्का निस्किदा चाँसो नलिने अनि बाहिर सिन्डिकेटको आरोप लगाएर हुन्छ । अहिलेको ठेक्का हाल्ने प्रणाली पहिला जस्तो हार्ड कापी बुझाउने, मुन्द्रे प्रयोग गर्नेले मात्र ठेक्का पाउने त होइन । अहिले त इन्टरनेटबाट ठेक्का हाल्न पाउने प्रणाली आएको छ । यस्ता सुविधा अन्तरगत आफू ठेक्का नहाल्ने अनि ठेक्का हाल्नेलाई सिन्डिकेट भनेर त कहाँ हुन्छ । ठेक्का हाल्न जाँदा ठेक्का हाल्न पाएन भने यसमा निर्माण व्यवसायी संघ, रसुवाले जवाफ दिने कुरा हुन्छ । जिल्लाभित्र सीमित निर्माण हुन्छ । निर्माण व्यवसायीले जिल्लामा सीमित भई बस्ने पनि होइन ।  जिल्ला बाहिर समेत निर्माण ठेक्का हाल्न जानु प¥र्यो । एउटा सत्य कुरा चै के हो भने हाम्रो जिल्लाका निर्माण व्यवसायीलाई इन्टरनेटबाट ठेक्का हाल्ने जानकारी कम छ यसका लागि मैले नेपाल सरकार सम्बन्धित निकायबाट इन्टरनेटबाट ठेक्का फार्म दर्ता गर्ने तालिमको निवेदन दिएको छु । दशैँ तिहार पश्चात् नै यो तालिम हुने सम्भवना छ । संघको जिल्ला अधिवेशन राखिएकोमा केही प्राविधिक कारण देखाउदै जिल्ला अधिवेशन सार्नु भएछ । 

जिल्ला अधिवेशनमा आर्थिक प्रतिवेदन किन सार्वजनिक नगर्नु भएको हो ? 
संघको साताँै जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम राम्रो नै भयो ।  उद्घाटन कार्यक्रम सम्पन्न पश्चात् बन्द सत्र हुनु पर्नेमा सदस्य साथीहरुलाई सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन, खर्च विवरणभन्दा पनि संघको अध्यक्ष, महासचिव, कोषाध्यक्ष, कार्यसमिति को को हुनेमा जोड भयो । संघको संस्थागत विकास र आर्थिक प्रतिवेदन सुन्न र सुनाउनलाई कसैको ध्यान नै भएन कहाँ आर्थिक प्रतिवेदन सुनाउनु । सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सुनाउनलाई तयार गरेका थियौँ तर एउटा व्यवसायीहरुको पवित्र संघको अधिवेशनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष, कार्यसमितिको लागि राजनीतिक दलीय भाग लगाउने कुरा आयो । यो व्यवसायीहरुको संघ हो, यसमा राजनीति आउनु ठिक होईन । आर्थिक प्रतिवेदन कुरा आयो संघमा रहेको आर्थिक हामीले चलाएको छैन, जस्ताको तस्तै छ । संघ चलाउनलाई कुनै राज्यबाट बजेट आएको पनि छैन, सदस्यहरुबाट उठेको सदस्य शुल्क रकम नै हाम्रो आम्दानी हो ।  

निर्माण व्यवसायीसँग काम गर्ने मजदुरले काम गरेको पैसा नपाउने समस्यालाई कसरी समाधान गर्ने योजनामा हुनुहुन्छ ?  
निर्माण व्यवसायीसँग काम गर्ने मजदुरले काम गरेको पैसा नपाएको गुनासो मैले पनि सुनेको छु, बोकेको छु । निर्माण व्यवसायीले निर्माण गर्दा कामदार, मजदुर आफैले नराखी पेट्टी ठेक्कदारमार्फत राख्ने गरिन्छ । निर्माण व्यवसायीबाट पेट्टीवालाले मजदुरको पैसा बुझेको हुन्छ तर पेट्टी ठेक्कदारले मजदुरको पैसा नदिने रहेछ । केही निर्माण व्यवसायीले पनि मजदुरलाई समयमा पैसा नदिएको देखिन्छ । यो त निर्माण व्यवसायीलाई बदनाम गर्ने कुरा हो । यस विषयमा हाम्रो संघको ध्यानार्षण भएको छ । मजदुरहरुको प्रत्यक्ष उपस्थितिमा मात्र रकम भुक्तानी गर्ने सबै निर्माण व्यवसायीलाई अनुरोध समेत गर्दछु । पैसा नपाएको भनी मजदुरले न त निर्माण व्यवसायी संघमा उजुर गर्छ, न त प्रहरी कार्यालयमा उजुरी गर्छ, मजदुरले पैसा नपाएको भन्ने उजुर भएमा तत्काल निर्माण व्यवसायी होस् या पेट्टी ठेक्कदार त्यसलाई कारर्वाही हुन्छ ।

निर्माण व्यवसायीहरुले कम गुणस्तरको माल प्रयोग गर्छ भन्ने आम बुझाई छ । गुणस्तर कायम गर्ने र समयमा नै निर्माण सम्पन्न गर्ने तर्फ  तपाईहरुको उदासिनता किन ? के तपाईहरुको समाजप्रति कुनै दायित्व छैन ?  
गुणस्तर कायम गर्नु, समयमा निर्माण सम्पन्न गर्नु हाम्रो दायित्व हो । निर्माण व्यवसायीले कमसल सामान प्रयोग गरेको, ढिलासुस्ती, घटिबढी गर्ने कुरा बढी सुनिन्छ । यो निर्माण व्यवसायीको मात्र दोष होइन । निर्माण स्थलमा नेपाल सरकारको प्राविधिक खटिएको हुन्छ । निर्माण गर्दा नेपाल सरकारको प्राविधिक के हेरेर बासिरहेको छ । सरकारको प्राविधिकले पिसी पाउँदा चुप लाग्ने पिसी नपाउँदा अर्कै एक किसिमको तनाब दिने कुरा छ । घुस खोरले गर्दा व्यवसाय फस्टाउन नसकेकोे हो । अपसिजनमा ठेक्का खोल्ने, समयमा भुक्तानी नदिने राज्यको गल्ती छ । राज्यबाट वर्षात् सुरु भएपछि मात्र आर्थिक चालपहल बढी हुन्छ । एउटा निर्माण व्यवसायीले ठेक्का पाउँदा पनि ठेक्काको ठाउँ पाउँनलाई तीन चार महिना लाग्छ । 

निर्माण व्यवसायसँग आवद्ध व्यवसायीहरु निर्माणमा भन्दा कि राजनीति बढी सक्रिय ? 
राजनीतिमा सफल नभएका, कर्मचारी लाईफबाट अवकाश भएकाहरु निर्माण व्यवसायीमा आएका छन भने निर्माण व्यवसायीका साथी राजनीतिमा लागेका छन् । मानिसले केही पैसा कमाएपछि मान प्रतिष्ठा खोज्दो रहेछ । मान प्रतिष्ठाको लागि राजनीतिलाई रोजेको देखियो । धेरै निर्माण व्यवसायीहरु संघीय प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्री समेत छन् । देश विकास र निर्माणको मेरुदण्ड भनेकै निर्माण व्यवसायी हो, जसले भौतिक विकास निर्माण गर्न सकिन्छ भने राजनीतिको माध्यमबाट देशको नीति नियम निर्माण गर्न सकिन्छ कि भन्ने वा निर्माण व्यवसायीको समस्यालाई नीतिगत रुपमा नै समाधान गर्न सकिन्छ भनेर पनि राजनीतिमा गरेको हुन सकिन्छ ।

रसुवा जिल्लामा निर्माण व्यवसायीहरुले कुनै योजना तथा आयोजनाहरु निर्माण गर्दा के के चुनौतीहरु आउँदो रहेछ ? 
निर्माण व्यवसायीहरुले व्यवसायी गर्नलाई वा ठेक्का लिनलाई सुरुमा आफ्नो सम्पत्ति धरौटी राख्नु पर्ने, ठेक्का पाए अज्ञात समूहबाट यति प्रतिशत रकम पाउनु पर्ने धम्की आउछ । सुरक्षित नहुनु,  अज्ञात समूहको धम्की, समयमा साईट नपाउने, राज्यबाट समयमा भुक्तानी नपाउने लगायतको समस्या विद्यमान छ । 

आगमी दिनमा समग्र निर्माण व्यवसायलाई सुधार्न के कस्ता सुधार गर्न आवश्यक देख्नु भएको छ र के के गर्ने योजना बनाउनु भएको छ ? 
निर्माण व्यवसायी महासंघले मजदुरको हितको लागि मजदुरको ज्यालादर हाल कम छ, जीविकोपार्जन गर्न सकिने ज्यालादर छैन, ज्यालादरलाई समय सपेक्षा निर्धारण गर्नु पर्छ । मजदुरहरुलाई पनि राज्यले सरकारी कर्मचारीलाई जस्तै पेन्सेनको व्यवस्था, मजदुरको स्वास्थ्य बीमा, दुर्घटना बीमा निःशुल्क हुनु पर्छ भन्ने माग राज्यसँग हामीले गरिरहेका छौँ भने निर्माण व्यवसायीहरुको हितमा जिल्लाभित्र भएको ठेक्का जिल्लाका स्थानीय निर्माण व्यवसायीलाई दिनु पर्ने, त्यस पछि प्रदेशका निर्माण व्यवसायीलाई प्रथामिकता दिनु पर्ने र सुरक्षाको वातावरण मिलाउनु पर्ने मागहरु राज्यसँग गरिएको छ । यसै कुरालाई व्यवस्थापन गर्ने गरी योजना बनाइ रहेको छु । 

Comments