Listen Live

​वान डे पासका लागि ट्रान्सपोटेसन एग्रिमेन्ट तयार
Posted On: Oct 10, 2018

रसुवा, असोज २४ – चीनको केरुङ जानका लागि रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा (वान डे पास) पाउने भएका छन् । रसुवाबासीलाई चीन सरकारले एक वर्षको पास उपलब्ध गराउँदै आएको छ । बाहिरी जिल्लाका नागरिकले एक दिने पास नपाउँदा व्यापारिक कारोबारमा समस्या भोग्दै आएका छन् ।

बुधबार चीनको केरुङमा भएको सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीले एक दिने पासका लागि ट्रान्सपोटेसन एग्रिमेन्टको प्रक्रिया सुरु भएको जानकारी दिएका हुन् । यसले व्यापारमा सहजीकरण हुने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘लामो समयदेखि वान डे पासको विषयमा कुरा उठ्दै आएको छ, उनले भने, यस पटकको बैठकमा प्रक्रिया सुरु भएको जानकारी आएको छ ।’

बैठकमा पाँचवटा विषयमा छलफल भएको छ । वान डे पास, चेलिवेटी बेचबिखन, अवैध सामग्री ओसारपसार नियन्त्रण, चीन सरकारले जिम्मा लिएको विद्यालय निर्माण र भाषागत क्षमताको विकास लगायतका विषयमा छलफल भएको प्रजिअ पौडेलले बताए ।

Comments