Listen Live

​रसुवागढी भन्सार : मसिंर १५ गतेसम्मको राजश्व असोज मसान्तभित्रै सङ्कलन
Posted On: Oct 23, 2018

रसुवा, कार्तिक ५– रसुवागढी भन्सार कार्यालयले आउँदो मंसिर १५ गतेसम्मको राजश्व असोज महिनामै सङ्कलन गरेको छ । कार्यालयले असोज महिनामा २ अर्ब ३२ करोड ६९ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्य भन्दा ३ सय ८७ दशमलव २२ प्रतिशत बढी हो । कार्यालयका अनुसार असोजमा ६० करोड ९ लाख ३८ हजार राजश्व उठाउने लक्ष्य राखेको थियो । 

चालु आर्थिक वर्ष २०७५÷७६ को पहिलो दुई महिना लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न सकेको थिएन् । साउन महिनामा लक्ष्यको ५२ प्रतिशत र भदौमा ३१ दशमलव ६१ प्रतिशत राजश्व सङ्कलन गरेको थियो । 

साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड ४ लाख ७७ हजार उठेको थियो । भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २ करोड ४३ लाख ७६ हजार लक्ष्य थियो । लक्ष्यभन्दा १ सय ४२ दशमलव २२ प्रतिशत राजश्व उठिसकेको भन्सार अधिकृत तथा सूचना अधिकारी धर्मराज सुवेदीले बताए ।

तीन महिनामा २ अर्ब ८७ करोड ९० लाख ३२ हजार असुली गरिसकेको उनले बताए । कार्यालयले वार्षिक लक्ष्यको ४० प्रतिशत राजश्व असुली गरिसकेको छ । कार्यालयले ७ अर्ब १५ करोड ६२ लाख ५५ हजार राजश्व असुली वार्षिक लक्ष्य लिएको छ ।

वर्षाको समयमा बाढीपहिरोले एक महिनासम्म सडक अवरुद्ध गर्दा घाटा बेहोरेको कार्यालयले सन्तुलनमा ल्याइसकेको छ ।  

Comments