Listen Live

रसुवाको पाङ्लेखर्कमा ११ हजार किलो चिज उत्पादन
Posted On: Oct 24, 2018

रसुवा, कार्तिक ७ – रसुवाको पाङ्लेखर्क चीज उत्पादन केन्द्रले यो वर्ष ११ हजार ५० केजी चिज उत्पादन गरेको छ ।

केन्द्रले गत वर्ष ११ हजार ५५ केजी चिज उत्पादन गरेको थियो । भूकम्पपछिका दिनमा चौरी पालक किसान घटेका, किसान आफैँले छुर्पी बनाउने र दुधको मूल्य नबढेको कारण चिज उत्पादन घटेको हो । क्षमताभन्दा बढी चिज उत्पादन गरेको भएपनि गत वर्षको तुलनामा उत्पादन घटेको केन्द्रका प्रमुख पूर्ण बहादुर जिरेलले बताए । 

‘हाम्रो केन्द्रको वार्षिक उत्पादन क्षमता १० हजार हो, उनले भने, तर स्थापना भएपछिको समयमा क्षमताभन्दा बढी उत्पादन हुँदै आएको छ ।’ यो केन्द्र २०७१ सालमा स्थापना भएको हो । केन्द्रका अनुसार यो वर्ष १ लाख ८ हजार ४ सय ८७ लिटर दुध सङ्कलन गरिएको थियो ।

गत बैसाखदेखि असोज मसान्तसम्म ११ हजार ६० केजी चिज र ३ हजार ८ सय ५६ केजी मखन उत्पादन भएको उनले बताए । ६ महिनासम्म उत्पादन हुने चिज केही स्थानीय स्तरमा र बाँकी दुग्ध विकास केन्द्रबाट बिक्रि हुँदै आएको छ । 

पाङ्लेखर्कसम्म सडक नपुगेको कारण त्यहाँबाट धुन्चेसम्म खच्चड मार्फत ल्याइने गरेको केन्द्रले जनाएको छ । धुन्चेबाट करिव ३ घण्टा हिँडेपछि उत्पादन केन्द्र पुगिन्छ । चिजको बजार मूल्य प्रतिकेजी १ एक हजार ६ सय र मखनको एक हजार रहेको छ । एक सय लिटर दुधबाट ११ किलो चिज र चार किलो मखन उत्पादन हुन्छ । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित धुन्चे, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ । यी केन्द्रहरूमा वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको भएपनि पर्याप्त मात्रमा दुध संकलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चीज उत्पादन हुने गरेको छ । 

गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा बैसाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ । 

Comments