Listen Live

​रसुवामा ११ प्रतिशत पुँजीगत खर्च
Posted On: Oct 29, 2018

रसुवा, कार्तिक १२ – रसुवामा चालु आर्थिक वर्षको तीन महिनामा करिव ११ प्रतिशत पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका अनुसार साउनदेखि असोज मसान्तसम्म १० दशमलव ५७ प्रतिशत विकास बजेट खर्च भएको हो । जिल्लामा ३६ करोड ६९ लाख ६ हजार पुँजीगत बजेट आएको थियो ।

जसमा हालसम्म ३ करोड ८७ लाख ९१ हजार २ सय ७९ रुपयाँ खर्च भएको छ । चालुतर्फ भने ३० प्रतिशत खर्च भइसकेको छ । २ अर्ब २४ करोड ९७ लाख १२ हजार ७ सय २६ रुपयाँमध्ये ६८ करोड ४६ लाख ६८ हजार २ सय ८९ रुपयाँ खर्च भएको कार्यालयले जनाएको छ । 

जिल्लामा विकास निर्माणमा काम गर्ने कार्यालय नहुँदा विकास बजेट खर्च हुन नसकेको हो । विकासको हिसावले पछि परेको रसुवामा तीन महिनामा भएको खर्च राम्रो भएको भएपनि यसमै सन्तोष मान्न सकिने अवस्था भने नरहेको कोष तथा लेखा नियन्त्रक प्रमुख दीपक लामिछानेले बताए । 

‘जिल्लामा चाडपर्व सकिएपछि विकास निर्माणले गति लिने गरेको छ, उनले भने, गत वर्षको तुलनामा विकास बजेटको खर्च बढेको छ ।’ यसअघि जिल्लामा रहेका खानेपानी, सहरी विकास, कृषि, पशु र सडक कार्यालय नुवाकोट र धादिङले हेर्ने भएका छन् । 

विकासे कार्यालयमध्ये जिल्लामा सिँचाइ सव डिभिजनको कार्यालय मात्रै रहने भएको छ । जिल्लामा तीन महिनामा करिव तीन अर्ब राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । स्थानीय तह आएपछि जिल्लामा विकास निर्माणको कामले गति लिएको देखिन्छ ।  

Comments