Listen Live

​रोजगारीका लागि केरुङ जाने क्रम बढ्यो : ९ हजार भन्दा बढीले चाइना पास लिए
Posted On: Nov 04, 2018
​रोजगारीका लागि केरुङ जाने क्रम बढ्यो  : ९ हजार भन्दा बढीले चाइना पास लिए

रसुवा, कार्तिक १८ – रोजगारका लागि चीनको केरुङमा जाने क्रम बढ्दै गएको छ । होटल, डान्सबार, ट्रान्सर्पोट र ब्लक निर्माण लगायतका कार्यका लागि रसुवाका नागरिक केरुङ पुगेका छन् । 
रसुवाका नौ हजारभन्दा बढी नागरिकले नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका छन् ।

नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा जिल्लाका ९ हजार ६ सय १४ जनाले लिएका रसुवागढी अध्यामगन कार्यालयले जनाएको छ । यो २०७२ असोज २८ गतेदेखि यही कार्तिक १५ गतेसम्मको तथ्याङ्क हो । यहाँका नागरिक कामका लागि चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा जाने गरेका छन् ।

रसुवागढी नाका सञ्चालनमा आएपछि रोजगारका लागि केरुङ जाने व्यापारी, व्यावसायी र चालक बढ्दै गएका छन् । रसुवागढी–केरुङ सडक खण्डमा मालबाहक कन्टेनर सञ्चालन गर्दा चालकले एकतर्फी भाडा ७ हजार ५ सय पाउँछन् । जिल्ला बाहिरका नागरिकलाई एक दिने पासको व्यवस्था नभएका कारण सवारी पु¥याउने तथा ल्याउने काम रसुवाका चालकले गर्दै आएका छन् ।

‘एक तर्फी सवारी पु¥याएको साढे ७ हजार आउँछ, चालक राम तामाङले भने, नाका सञ्चालनमा आएपछि हामीले काम पाएका छौँ ।’ केरुङ गएकामध्ये धेरैजसो होटल तथा डान्सबारमा कार्यरत छन् । 

१४ वर्षदेखि २५ वर्षसम्मका किशोर किशोरी होटलमा रहेका देखिन्छ । कम उमेरमा नागरिकता बनाएर पास निर्माण गरी केरुङ जाने क्रम बढेपछि अध्यामगन तथा जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएका छन् । 

होटलमा काम गर्नेले न्यूनतम १५ हजारदेखि ३५ हजारसम्म आम्दानी गरिरहेका छन् । नाका सञ्चालनमा आएपछि जिल्लाबासीले कन्टेनर खरिद गर्ने क्रम बढेको व्यावसायी बताउँछन् । जसको कारण ट्रान्सपोर्टमा समेत जिल्लाबासीले रोजगार पाएका छन् । 

जिल्ला बाहिरका नागरिकका लागि एक दिने पास उपलब्ध गराउनका लागि नेपाली टोलीले चिनियाँ पक्षलाई अनुरोध गर्दै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘नेपाली टोलीले गरेको अनुरोधलाई स्वीकार गर्दै चिनियाँ पक्षले प्रक्रिया अघि बढाएका छन्, उनले भने, यसका लागि अझै समय लाग्ने देखिन्छ । 

‘व्यापार सहजीकरणका लागि ट्रान्सपोटेसन एग्रिमेन्ट गर्ने कार्य अघि बढाएको चिनियाँ पक्षले बताएको छ’ । उनले थपे ।

Comments