Listen Live

रसुवाको पर्यटकीय मार्गमा आन्तरिक पर्यटक बढे
Posted On: Nov 05, 2018

रसुवा, कार्तिक १९ - रसुवाको पर्यटकीय मार्गहरुमा आन्तरिक पर्यटकको आगमन बढेको छ । हिमाली क्षेत्रको पदयात्राका लागि सिजन सुरु भएसँगै जिल्लाको पर्यटकिय मार्गहरुमा आन्तरिक पर्यटकको आगमन बढेको हो । 

नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमाली दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको आगमनमा बृद्धि हुदै गएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मिले बताए ।

अहिले दैनिक सय भन्दा बढीको संख्यामा जिल्लाको लाङटाङ तथा गोसाईकुण्डमा आन्तरिक पर्यटकको आगमन भइरहेको उनले बताए । आन्तरिक पर्यटक बढेपछि जिल्लाका जिल्लाको पर्यटकिय मार्गका होटलहरु भरिभराउ भएपछि होटल व्यवसायी उत्साहित बनेका हुन् ।

केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यावसायीले अहिले नेपाली आउँदा उत्साहित हुने गरेका छन् । विदेशी पर्यटकले भन्दा नेपालीले बढि खर्च गर्ने गरेको व्यवसायीहरुले बताएका छन् । जिल्ला सदरमुकाम धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड पदमार्ग र लाङटाङ पदमार्गमा सञ्चालित होटलहरु अहिले पर्यटकले भरिएका छन् । केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र पर्यटक भित्रने गरेपनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना पर्यटक आउन थालेको होटल व्यवसायि निसान गजुरेलले बताए । 

न्युनतम दुई जनादेखि १५ जनासम्मको समुहमा नेपाली पर्यटकहरु आउने गरेको पाइएको छ । जिल्लामा सञ्चालित होटल व्यवसायीले स्वदेशी पर्यटकबाट मनग्य आम्दानी गरिरहेका छन् । स्वदेशी पर्यटकले न्युनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । जसका कारण पर्यटन व्यवसायी र होटल व्यवसायीलाई फाइदा पुगेको व्यवसायिहरुले बताएका छन् ।

जिल्लामा साना–ठूला गरी डेढ सयको हाराहारी होटल सञ्चालनमा रहेका छन् । जिल्लाको स्थानीय तामाङ कला र संस्कृति, निकुञ्ज क्षेत्र भित्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचिकृत गोसाईंकुण्ड, तातोपानी, गतलाङ, बृद्धिम होमस्टे, रसुवागढि तथा तामाङ सम्पदा मार्ग लगायतका विभिन्न क्षेत्रहरु पर्यटकका लागि प्रमुख आर्कषणको केन्द्र रहेको छ । 

आन्तरिक पर्यटकको आगमनमा बृद्धि भएसँगै तथ्याङ्क राख्न सुरु गरिएको छ । जिल्लामा पछिल्लो समय स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले असोज २९ गतेदेखि तथ्याङ्क राख्न सुरु गरेको हो ।

असोज २९ गतेदेखि कार्तिक १७ गतेसम्म एक हजार तिन सय ४२ जना आन्तरिक पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको अवलोकन गरिसकेको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मिले बताए । यसअघि जिल्लामा भित्रने स्वदेशी पर्यटकको तथ्याङ्क नराख्दा पर्यटक हराउने, असुरक्षा बढ्ने, एकिन तथ्याङ्क नभेटिने लगायतका समस्या आउने गरेको थियो ।

हिमाली राष्ट्रिय निकुञ्ज नियमवाली २०३६ अनुसार नेपालीलाई शुल्क नलाग्ने भएकाले तथ्याङ्क राख्ने नगरिएको भएपनि अहिले हिमाली राष्ट्रिय निकुञ्ज नियमवालीको पर्यटन शुल्क परिमार्जन गर्दा नेपाली पर्यटकलाई सय रुपैया र भरियालाई २५ रुपैया राजश्व तिर्ने व्यवस्था भएअनुसार तथ्याङ्क राख्न सुरु भएको प्रमुख संरक्षण अधिकृत रेग्मिले बताए ।

वार्षिक २५ हजार भन्दा बढि स्वदेशी पर्यटक जिल्ला भित्रने गरेपनि यसअघि तथ्याङ्क नराखिँदा यसको वास्तविक अवस्था थाहा हुन नसकेको थिएन् । 


 
 
 

 

 

 

Comments