Listen Live

चीन जोड्ने सडकको डिपिआर संशोधन सकियो
Posted On: Dec 04, 2018

रसुवा, मंसिर १८ – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन सकिएको छ । डिपिआर संशोधनको काम सकाएर स्टेटमेन्टको काम सुरु गरिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।
 
मंसिर महिनाभित्रै स्टेटमेन्टको काम सकाएर टेन्डर गरिने योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए । सडकको डिपिआर संशोधनको काम सकिएको छ, उनले भने, मंसिर भित्रै टेन्डरको काम सुरु हुन्छ ।’ वर्षाको कारण सडकमा थप क्षति भएपछि गत असारमा तयार गरिएको डिपिआर संशोधन गरिएको छ । 
 
असार मसान्तसम्ममा डिपिआर सकाएर साउनमा टेन्डर गर्ने तयारी थियो । गत कार्तिकबाट स्तरोन्नतीको काम अघि बढ्ने गरी तयारी थालिएपनि डिपिआरको काम पूरा नभएपछि काम पछि धकेलिएको हो । 
 
नेपाली सेनाको मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले निर्माण गरेर गत जेठमा योजनालाई हस्तान्तरण गरेको थियो । २०७२ बैसाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो । 
 
ट्रयाक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो । यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना छ । राष्ट्रिय योजना आयोगको मध्यकालिन खर्च संरचना (२०७५÷७६–०७७÷७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष २०६१÷६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना २०७५÷७६ भित्र निर्माण तथा स्तरोन्नती भएको हुने उल्लेख छ । 
 
यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । 
 
पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन् । काठमाडौँदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्रु १६ किमी दूरी रहेको छ । 
 
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन । 
मैलुङ¬–स्याफ्रुबेँसी सडकको बिकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेँसी सडक प्रयोग गर्न सकिने बताइएको छ । २०४२ सालदेखि पासाङ ल्हामु राजमार्ग अन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ । 
 

Comments