Listen Live

रसुवाको पासाङल्हामु सडकखण्ड जीर्ण, समयमा मर्मत सम्भार नहुँदा यात्रुलाई सास्ती
Posted On: Dec 06, 2018
रसुवाको पासाङल्हामु सडकखण्ड जीर्ण, समयमा मर्मत सम्भार नहुँदा यात्रुलाई सास्ती

रसुवा, मंसिर २०

 समयमा मर्मत सम्भार नहुँदा रसुवाको पासाङल्हामु सडकखण्डमा यात्रा गर्नेहरुले सास्ती झेल्नुपरेको छ । धुन्चे–स्याफ्रु खण्डको सानो भार्खुलगायतका स्थानमा सडक भत्किएपछि यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको हो । स्याफ्रुबेसी, धुन्चे ठाडे तथा राम्चेका उकालो र घुम्तीहरुमा ठूलाठूला खाल्टा परेका छन् ।

रसुवाको राम्चेदेखि स्याफुबेसीसम्मको खाल्टा खुल्टी पुर्न गतवर्ष नै १ करोड ७० लाख रुपैयाँमा ठेक्का लिए पनि ठेकेदारले काम गरेका छैनन् । सडक डिभिजन कार्यालय नुवाकोटले चिसो मौसममा सडकका परेका स–साना खाल्डाखुल्टी टाले पनि ठूला खाल्डाखुल्डी जस्ताको तस्तै छन् । कालोपत्रेसमेत ठाउँठाउँमा उक्किएको छ । सडक मर्मतका नाममा वर्सेनी करोडौं रुपैयाँ खर्च गरिँदै आएको भए पनि सडकको अवस्था भने उस्तै छ ।

ठूला मालवाहक सवारी साधन धेरै सञ्चालन भइरहने गरेका कारण सडकमा बढी खाल्टा खुल्टी परेको डिभिजन कार्यालय नुवाकोटको भनाइ छ । यो सडकखण्ड सात वर्षअघि एसियाली बिकास बैंकको सहयोगमा कालोपत्रे गरिएको थियो ।

 

Comments